काठमाडौं । भदौ २४ को जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारीसाधन हटाउने काम सुरु गरिएको छ ।

विभिन्न मन्त्रालय र कार्यालयमा गरी आगजनी गरिएको सयौं सवारीसाधन नयाँ बानेश्वरस्थित वीरेन्द्र सम्मेलन केन्द्रको परिसरभित्र राखिने भएको छ ।

ADVERTISEMENT

हाल ऊर्जा, जलस्रोतत तथा सिंचाइ मन्त्रालय परिसरमा जलेका सवारीसाधन हटाउने काम भइहेको छ । केही दिनमै सिंहदरबारभित्रको जलेका सम्पूर्ण सवारीसाधन हटाउने मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र विभिन्न मन्त्रालयका सरकारी गाडी र निजी गरी एक हजारभन्दा बढी जलाइएका छन् । परिसरमा जलेका गाडीका अस्थिपञ्जर हेर्दा कुनै युद्धको भग्नावशेषझै झल्को दिन्छ ।

ऊर्जामन्त्री कुलमान घिसिङले तत्काल सिंहदरबारभित्र जलेका सवारीसाधनका अवशेष हटाउने र जलेका विभिन्न मन्त्रालयका भवनमा रंगरोगन लगाइने बताएका थिए । उनकै निर्देशनअनुसार हाल अर्थ मन्त्रालयमा रंग लगाउने काम भइरहेको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङको उपस्थितिमा ‘हाम्रो ठाँउ हामी बनाऔं’ भन्ने नाराका साथ पुर्ननिर्माण अभियानले संविधान दिवसको अवसरमा जेनजी आन्दोलनमा जलेको यातायात व्यवस्थापन विभाग सफाइ गरेका छन । २५-३० जना युवाको समूहले विभाग सफा गरेका हुन् ।