काठमाडौं । सभामुख देवराज घिमिरे जेनजी आन्दोलनको १० दिनपछि प्रकट भएका छन् । उनी बिहीबार दिउँसो नयाँ बानेश्वरस्थित क्षतिग्रस्त संसद् भवनको अवलोकन गर्न पुगेका छन् । साथमा उपसभामुख इन्दिरा रानामगर पनि थिइन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि घिमिरे र राना सार्वजनिक भएका थिएनन् । प्रधानमन्त्री सुशीला कार्कीको सपथमा समेत उनीहरू पुगेनन् । त्यसका साथै नयाँ तीन मन्त्रीको सपथग्रहणमा पनि सभामुख घिमिरे र उपसभामुख राना सहभागी भएनन् ।

प्रतिनिधिसभा विघटन भए पनि सभामुख र उपसभामुख कायमै रहन्छन् । आमनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेपछि मात्रै उसको कार्यकाल सकिन्छ । यदि उम्मेदवारी नदिएमा नयाँ सभामुखलाई पद हस्तान्तरण गरेर सभामुख बाहिरिन्छन् । यति ठूलो राजनीतिक परिवर्तन हुँदा पनि सभामुख घिमिरे राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसँग संसद् विघटन नगर्न भनी संयुक्त विज्ञप्ति निकाल्नेबाहेक कहीँकतै देखिएका थिएनन् । अवस्था सामान्य बन्दै गएपछि जलेको संसद् भवनका संरचना हेर्न उनी पुगेका हुन् ।

आमनिर्वाचनपछि सिंहदरबारस्थित नयाँ भवनमै संसद् बैठक बस्ने भएको छ । सिंहदरबारस्थित नयाँ भवनको काम सक्न अझै चार पाँच महिना लाग्ने र निर्वाचन पनि ६ महिनामा हुने भएकाले अब नयाँ बानेश्वरको संसद् भवनलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाइने भएको छ ।