काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई शुक्रबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरेको थियो। अदालतले अनुसन्धानका लागि चार दिनको समय दिएको हो।

ADVERTISEMENT

सीआईबीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि अर्याललाई पक्राउ गरिएको जनाएको थियो।

ADVERTISEMENT

प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्याल संलग्न रहेको आरोप छ।

सीआईबीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ।

उक्त रकम विदेश पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत अर्यालको संलग्नता रहेको प्रहरीको आरोप छ।

सीआईबीले २०८३ मङ्सिर २ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।