काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालको सहकार्यमा अस्पताल परिसरमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा आएको छ।

नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच र गुणस्तर विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको वार्डको मंगलबार उद्घाटन गरिएको हो।

ADVERTISEMENT

नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका हुन्। कार्यक्रममा दुवै संस्थाका वरिष्ठ अधिकारी, स्वास्थ्यकर्मी, सरोकारवाला तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।

ADVERTISEMENT

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत स्थापना गरिएको उक्त वार्डले जलनका बिरामीलाई विशेषज्ञतायुक्त, गुणस्तरीय र बिरामी केन्द्रित उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

यसअघि नबिल केयरले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालन गरेको थियो। ती शिविरमार्फत देशका विभिन्न क्षेत्रका करिब पाँच सय जलन प्रभावित व्यक्तिले उपचार सेवा प्राप्त गर्ने अवसर पाएको बैंकले जनाएको छ।

नेपालमा जलनका घटना जनस्वास्थ्यको चुनौतीका रूपमा रहँदै आएका छन्। जलनबाट प्रभावित व्यक्तिलाई तत्काल उपचारसँगै विशेषज्ञ चिकित्सा सेवा, शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना र मनोसामाजिक सहयोग आवश्यक पर्ने भएकाले नयाँ वार्डले यस्ता सेवामा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा नबिल बैंकका अध्यक्ष चौधरीले निजी क्षेत्रले समाजका महत्वपूर्ण आवश्यकता सम्बोधन गर्न सक्रिय भूमिका खेल्नुपर्ने बताए। बैंकको सफलता आर्थिक उपलब्धिमा मात्र सीमित नभई समाजमा सिर्जना गरेको सकारात्मक प्रभावबाट पनि मापन हुनुपर्ने उनको भनाइ थियो।

उनले जलनका बिरामीले लामो र चुनौतीपूर्ण स्वास्थ्यलाभको यात्रा तय गर्नुपर्ने उल्लेख गर्दै सीमित स्वास्थ्य पूर्वाधारका कारण कुनै पनि परिवार गुणस्तरीय उपचारबाट वञ्चित हुन नहुने बताए। यस सहकार्यले दीर्घकालसम्म समाजलाई लाभ पुर्‍याउने स्वास्थ्य पूर्वाधार निर्माणमा योगदान गर्ने उनले विश्वास व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले विशिष्टीकृत जलन उपचार सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहकार्य आवश्यक रहेको बताए। धुलिखेल अस्पतालसँगको साझेदारीले उपचार आवश्यक भएका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ थियो।

उनले ‘नबिल बर्न केयर वार्ड’ नबिल केयरअन्तर्गत सञ्चालन भइरहेका सामाजिक उत्तरदायित्वका कार्यक्रमको महत्वपूर्ण हिस्सा भएको बताए।

यसअघि सञ्चालन गरिएका जलन शल्यक्रिया शिविरबाट करिब पाँच सय प्रभावितले उपचारको अवसर पाएको उल्लेख गर्दै नयाँ वार्डले बिरामी र परिवारका लागि उपचार, आशा र सम्मानको केन्द्रका रूपमा काम गर्ने विश्वास व्यक्त गरे।

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले नबिल बैंकको सहयोगले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनले ग्रामीण समुदायमा विशेषज्ञ उपचार सेवा सहज रूपमा उपलब्ध नहुने अवस्थालाई सम्बोधन गर्न अस्पतालले काम गरिरहेको उल्लेख गरे। नबिल बैंकसँगको सहकार्यमा नेपालमै विशिष्टीकृत जलन उपचार सेवाको नमुना केन्द्र विकास गर्ने लक्ष्य रहेको उनले बताए।

नबिल बैंक र धुलिखेल अस्पतालबीचको यो सहकार्यले जलनका बिरामीलाई उपचार तथा पुनर्स्थापना सेवामा पहुँच विस्तार गर्नुका साथै नेपालमा विशिष्टीकृत स्वास्थ्य पूर्वाधार विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।