काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रतियोगितामा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

कोशी प्रदेशले दिएको ६६ रनको लक्ष्य आर्मीले १३.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि विन्दु रावल, रुबी पोद्दार र कविता कुँवरले दोहोरो अंकमा रन बनाए भने अञ्जली विश्वकर्माले सात रनको योगदान गरिन् । कोशीकी रुविना क्षेत्रीले तीन र अलिश खडियाले एक विकेट लिइन् ।

ADVERTISEMENT

यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेश ६५ रनमा समेटिएको थियो । कोशीकी रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन् । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ADVERTISEMENT

कोशीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी यमुना थारु र मनीषा उपाध्यायले दुई–दुई विकेट लिए । कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउद र संगीता गुरुङले एक–एक विकेट हात पारे ।

यस जितसँगै आर्मीले प्रतियोगिताको महिला क्रिकेटतर्फ आफ्नो यात्रा जितबाट सुरु गरेको छ ।