काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडलाई आन्तरिक राजस्व कार्यालय, ललितपुर–१ ले सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मान गरेको छ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा कार्यालयले फोनपेलाई सम्मानपत्र प्रदान गरेको हो। कार्यालयअन्तर्गतका करदातामध्ये सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा फोनपे छनोट भएको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

सम्मान कार्यक्रममा प्रमुख कर अधिकृत शिवकुमार राईले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन र आर्थिक गतिविधिलाई औपचारिक प्रणालीमा आबद्ध गर्न फोनपेले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

ADVERTISEMENT

फोनपे यसअघि पनि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानित भएको थियो। आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट कम्पनीले उक्त सम्मान प्राप्त गरेको जनाएको छ।

नेपालको डिजिटल भुक्तानी क्षेत्रमा सक्रिय फोनपेले बैंक तथा वित्तीय संस्था, व्यापारी र लाखौँ प्रयोगकर्तालाई आफ्नो भुक्तानी सञ्जालमा जोडेको छ। कम्पनीका अनुसार डिजिटल भुक्तानीको विस्तारसँगै वित्तीय समावेशीकरण र औपचारिक आर्थिक गतिविधिमा समेत योगदान पुगिरहेको छ।

यसैबीच, फोनपे निकट भविष्यमा प्राथमिक सेयर निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणमा जाने तयारीमा रहेको कम्पनीले जनाएको छ। आईपीओ जारी भएपछि कम्पनीको संस्थागत पारदर्शिता र सुशासनलाई थप बल पुग्ने तथा सर्वसाधारणलाई कम्पनीको विकास यात्रामा सहभागी हुने अवसर मिल्ने अपेक्षा गरिएको छ।