जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या–जनकपुरधाम रेल सेवाले ठूलो अवसर सिर्जना गरेको बताएका छन् ।
धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद झाले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै ‘सिया बिन राम अधुरा’ भन्ने उखानको चर्चा गरेका छन् ।
सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको अयोध्या–जनकपुरधाम सरयू–कमला एक्सप्रेस रेलले माता सीता र भगवान् रामलाई जोड्ने ऐतिहासिक काम गरेको उनको भनाइ छ । यस रेल सेवाले दुवै देशबीचको पौराणिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको उनले उल्लेख गरेका छन् ।
सांसद झाले अयोध्या–जनकपुरधाम रेल सेवाले धनुषावासीका लागि ठूलो अवसर सिर्जना गरेको बताएका छन् । उनका अनुसार यस सेवाले धनुषालगायतका क्षेत्रमा आर्थिक गतिविधि र पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
उनले रेल सेवा सञ्चालनका लागि पहल गर्ने दुवै देशका प्रधानमन्त्रीलाई धन्यवादसमेत दिएका छन् ।
अयोध्यादेखि जनकपुरधामसम्मको रेल सेवाको उद्घाटन प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार संयुक्त रूपमा गरेका हुन् ।
मंगलबार बिहान ९ः३० बजे उक्त रेल जनकपुरधाम आइपुग्ने समयतालिका छ । पहिलोपटक जनकपुरधाम आउन लागेको रेलमा सवार १ हजार १०० यात्रुको स्वागतका लागि जनकपुरधाममा विशेष कार्यक्रम आयोजना गरिएको छ












