जनकपुरधाम । भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवा औपचारिक रूपमा उद्घाटन भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल सेवाको उद्घाटन गरेका हुन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीले उद्घाटन गरेसँगै १ हजार १०० यात्रु बोकेको रेल अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यामा रेललाई बिदाइ गरेका थिए ।
तोकिएको समयभन्दा केही ढिलो गरी प्रस्थान गरेकाले रेल मंगलबार बिहान करिब ९ः३० बजे जनकपुरधामस्थित रेल्वे स्टेसन पुग्ने अनुमान गरिएको छ । नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेलमा विशिष्ट व्यक्तित्व, सरकारी तथा कूटनीतिक निकायका पदाधिकारी, साधुसन्त र महात्मासहित १ हजार १०० जना यात्रु रहेका छन् ।
जनकपुरधाममा पहिलोपटक आउने रेललाई विशेष स्वागत गर्ने तयारी गरिएको छ । रेल नियमित सञ्चालनको सुरुवात नभएकाले यसपटकका यात्रुका लागि स्वागतदेखि धार्मिक भ्रमण र आतिथ्यसम्मको व्यवस्था मिलाइएको पराजुलीले बताए ।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका, नेपाल रेल्वे र जनकपुरधाम उद्योग वाणिज्य संघको समन्वयमा स्वागत कार्यक्रम आयोजना गरिनेछ । रेल मंगलबार दिउँसो करिब १ बजेसम्म जनकपुरधाममा बसेर पुनः अयोध्याका लागि फर्किने कार्यक्रम छ ।
स्वागत समारोहमा श्रममन्त्री रामजी यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको विशेष उपस्थिति रहने जनाइएको छ । रेल्वे स्टेसनमै पण्डाल, मञ्च र यात्रुका लागि बस्ने व्यवस्था मिलाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहका अनुसार यात्रुको स्वागतमा झाँकी, सांस्कृतिक नृत्य तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ । सांस्कृतिक कार्यक्रमको जिम्मेवारी स्थानीय मिनाप संस्थालाई दिइएको छ ।
यात्रुको सहज आवागमनका लागि रेल्वे स्टेसनदेखि जानकी मन्दिरसम्मको मुख्य सडक सरसफाइ गरिएको छ । सडकका दुवैतर्फ नेपाल र भारतका राष्ट्रिय झण्डा राखिने तथा प्रत्येक यात्रुलाई फूलमालासहित स्वागत गरिने प्रमुख साहले बताए ।
जानकी मन्दिरसम्म पैदल जान सक्ने यात्रुलाई स्वागतसहित लैजाने र हिँडडुल गर्न कठिनाइ हुनेका लागि निःशुल्क सवारीको व्यवस्था गरिएको छ । यात्रुलाई जानकी मन्दिर दर्शन गराउने तथा खाजाको प्रबन्धसमेत मिलाइएको छ ।
जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासका अनुसार जनकपुरधामका साधुसन्त पनि रेल्वे स्टेसनमा उपस्थित भएर यात्रुको स्वागत गर्नेछन् । जानकी मन्दिरमा पूजाआराधनाका लागि मन्दिर व्यवस्थापन समितिले आवश्यक तयारी गरेको छ ।
अयोध्या र जनकपुरधामबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेल सेवाले थप नजिक ल्याउने अपेक्षा गरिएको छ । वर्षौंदेखिको सपना साकार भएको उल्लेख गर्दै छोटे महन्थ दासले रेल सेवा सञ्चालनको पहलका लागि नेपाल र भारतका प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।
सरयू–कमला एक्सप्रेसको आगमनसँगै जनकपुरधामको पर्यटन तथा व्यापारिक क्षेत्रमा पनि उत्साह देखिएको छ । धार्मिक पर्यटकको आवागमन बढ्ने र स्थानीय होटल, यातायात, व्यापार तथा पर्यटन व्यवसायले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
हप्तामा एकपटक सञ्चालन हुने भनिएको यस रेल सेवाले अयोध्या र जनकपुरधामबीचको धार्मिक पर्यटनलाई नयाँ सम्भावना दिने विश्वास गरिएको छ । रामायणकालीन सम्बन्ध र नेपाल–भारतबीचको सामाजिक तथा सांस्कृतिक निकटतालाई थप मजबुत बनाउने अपेक्षासमेत गरिएको छ ।












