काठमाडौं । नेपालको पर्वतीय पर्यटनमा विदेशी आरोहीको आकर्षण बढ्दै जाँदा चालु शरद ऋतुमा हिमाल आरोहण अनुमति शुल्कबाट सरकारले ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ । यस ऋतुमा मनास्लु र आमादब्लम आरोहीका प्रमुख रोजाइ बनेका छन् ।

पर्यटन विभागका अनुसार २०८३ कात्तिक ७ देखि मंसिर १ गतेसम्म देशभरका ४८ हिमाल आरोहणका लागि १८८ आरोहण दलका १ हजार ६३१ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा १ हजार २५१ पुरुष र ३८० महिला रहेका छन् ।

ADVERTISEMENT

यस अवधिमा सरकारले २१ लाख ९७ हजार ३६० अमेरिकी डलर बराबरको रोयल्टी संकलन गरेको छ । नेपाली रुपैयाँमा यो रकम ३३ करोड ४२ लाख ३४ हजार २२६ हुन्छ ।

ADVERTISEMENT

आरोहीको रोजाइमा मनास्लु पहिलो र आमादब्लम दोस्रो स्थानमा छन् । यी दुई हिमालमा मात्रै कुल आरोहीको ५९.८ प्रतिशतले आरोहण अनुमति लिएका छन् भने कुल रोयल्टीको ८८.९ प्रतिशत हिस्सा यिनै हिमालबाट संकलन भएको छ ।

८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ दलका ५०० जनाले अनुमति लिएका छन् । जसमा ३७३ पुरुष र १२७ महिला छन् । मनास्लुबाट मात्रै २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको छ । यो कुल रोयल्टीको ६७.६ प्रतिशत हो ।

त्यस्तै, ६ हजार ८१४ मिटर अग्लो आमादब्लम आरोहणका लागि ४० दलका ४७६ जनाले अनुमति लिएका छन् । जसमा ३६० पुरुष र ११६ महिला छन् । यस हिमालबाट ७ करोड १३ लाख ४७ हजार १०० रुपैयाँ रोयल्टी संकलन भएको विभागको तथ्यांक छ ।

अन्य हिमालमा पनि आरोहीको आकर्षण देखिएको छ । हिमलुङ हिमालका लागि १३ दलका १३० जना, बरुणत्सेका लागि ६ दलका ६५ जना, थापा पिकका लागि १४ दलका ६३ जना र चुलु फार इस्टका लागि ६ दलका ५८ जनाले अनुमति लिएका छन् ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये धौलागिरि प्रथम आरोहणका लागि ६ दलका ३७ जनाले अनुमति लिएका छन् । यसबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने एक दलका चार जनाले अनुमति लिएका छन् । तीन पुरुष र एक महिलाले अनुमति लिँदा ३० लाख ७० हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै, मकालु प्रथम आरोहणका लागि तीन पुरुषले अनुमति लिएका छन् ।

पर्यटन विभागको देशगत विवरणअनुसार आरोहण अनुमति लिनेमा चीन सबैभन्दा अगाडि छ । ७७ देशका आरोहीमध्ये चीनका १४६ जनाले अनुमति लिएका छन् । त्यसपछि फ्रान्सका १४३, अमेरिकाका १३०, रुसका १२१, बेलायतका ११२ र जर्मनीका १०० जना छन् ।

नेपालका ८८ जनाले पनि आरोहण अनुमति लिएका छन् । त्यस्तै, इटालीका ६४, स्पेनका ५६, स्विट्जरल्यान्डका ५१, अस्ट्रेलियाका ४६, क्यानडाका ४५, चेक रिपब्लिकका ४४, पोल्यान्डका ४३ र भारतका ४० जना आरोही छन् ।

अन्य हिमालमा पुथा हिउँचुली र सारिबुङमा ३९–३९ जना, थोरोङ पिकमा २५ जना तथा अन्नपूर्ण चौथोमा १९ जनाले आरोहण अनुमति लिएका छन् ।

हिमाल आरोहणबाट प्राप्त रोयल्टीले पर्यटन क्षेत्रको आम्दानीमा योगदान पुर्‍याउँदै आएको छ । तर, कुल रोयल्टीको ठूलो हिस्सा दुई हिमालमा निर्भर देखिनुले नेपालको पर्वतीय पर्यटनलाई थप विविध गन्तव्यमा विस्तार गर्नुपर्ने सम्भावनासमेत देखाएको छ ।