सर्लाही । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा तोडफोड र आगजनी भएको छ । मृतकका आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड गर्नुका साथै पेट्रोल छर्केर आगो लगाएका हुन् ।
बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोलकी २१ वर्षीया सिमा रामदेवीको आइतबार राति करिब ८ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो । नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि नगर अस्पतालमा उपचाररत थिइन् ।
उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण बिरामी अचानक बेहोस भएको भन्दै आफन्तले अस्पतालभित्र विरोध जनाएका थिए । त्यसपछि अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा अस्पतालमा लागेको आगो नियन्त्रणमा लिइएको थियो । यसैबीच, थप उपचारका लागि राति १०ः४५ बजे चन्द्रनिगाहपुरस्थित अस्पताल पुर्याइएकी सिमालाई चिकित्सकले १०ः५३ बजे मृत घोषणा गरेका थिए ।
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएर शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनी महरा र २० वर्षीय राजन राम रहेका छन् ।
त्यस्तै, अस्पतालको इमर्जेन्सी कक्षमा पेट्रोल छर्केर आगजनी तथा तोडफोड गरेको आरोप लागेका अस्पतालमै करारमा कार्यरत बरहथवा–५ का ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको छ ।
प्रहरीका अनुसार अस्पतालमा भएको तोडफोड र आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उपचारमा लापरबाही भएको आफन्तको आरोप र महिलाको मृत्युको वास्तविक कारण भने पोस्टमार्टम तथा अनुसन्धानपछि स्पष्ट हुनेछ ।












