काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार नयाँ दिल्लीस्थित राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले स्मारकस्थलमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन् ।
यसअघि राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शाहलाई औपचारिक सम्मान गारद प्रदान गरिएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबारदेखि भारतको राजकीय भ्रमणमा रहेका शाहले सोमबार नै मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेश मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुनेछ ।
वार्तामा व्यापार, लगानी, यातायात, पूर्वाधार, ऊर्जा र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रमसमेत छ ।
प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको ३४ सदस्यीय प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् ।
शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित उच्च सरकारी अधिकारी सहभागी छन् ।












