खोटाङ । कवि तथा गीतकार टीका चाम्लिङको ५३ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित चाम्लिङको मङ्सिर ५ गते राति उपचारका क्रममा निधन भएको हो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथला खाम्ला निवासी चाम्लिङको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको आफन्त सुरेश राईले जानकारी दिएका छन् ।

ADVERTISEMENT

२०८० सालदेखि क्यान्सरसँग संघर्ष गर्दै आएका चाम्लिङले यसअघि एकपटक क्यान्सरलाई जितेका थिए । तर, दोस्रोपटक शरीरको अर्को भागमा क्यान्सर देखिएपछि उनको उपचार भइरहेको थियो ।

ADVERTISEMENT

२०३० माघ ४ गते जन्मिएका चाम्लिङका दुई सयभन्दा बढी गीत रेकर्ड भएका छन् । लामो समयदेखि गीत, कविता र संस्कृतिको क्षेत्रमा सक्रिय उनका ‘जाउँ सँगी गाउँघरैमा’ र ‘आलु तामाले’ चर्चित गीत हुन् ।

उनका ‘सधैँभरि’, ‘राखौँ सम्झना’, ‘सपनाको रङ’, ‘समयको रङ’, ‘जूनको बस्ती’, ‘मुन्दुम र मालिङ्गो’ तथा ‘बागी कविता’ लगायतका कृति प्रकाशित छन् । उनले गीतिसंग्रह, गीतिकाव्य र कविताका क्षेत्रमा योगदान पुर्‍याएका थिए ।

चाम्लिङले २०६१ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत–सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकारको पुरस्कार पाएका थिए । त्यस्तै, २०७५ सालमा राष्ट्रव्यापी बाल गीत–सङ्गीत सम्मेलनमा पनि सर्वोत्कृष्ट गीतकार घोषित भएका थिए ।

उनले २०७३ सालमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको नेपाली प्रतिभा पुरस्कार, २०७२ सालमा खोटाङ सेवा समाज बेलायतको खोटाङ प्रतिभा पुरस्कार र २०७८ सालमा कोशी प्रदेश सरकारको प्रदेश भाषा, साहित्य, कला तथा संस्कृति सम्मान प्राप्त गरेका थिए ।

संगीत तथा नाट्य प्राङ्गणमा श्रद्धाञ्जली सभा गरेपछि उनको पार्थिव शरीर जन्मथलो लगेर अन्त्येष्टि गर्ने तयारी भइरहेको आफन्त राईले बताएका छन् । चाम्लिङका श्रीमती र एक छोरा छन् ।