काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको जनबहालस्थित कनक चैत्य महाविहारमा ५० वर्षपछि आयोजना गरिएको अयुता हुति महायज्ञमा सहभागी भएका छन् ।

आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा बिहीबारदेखि सुरु भएको महायज्ञको अन्तिम दिन शनिबार राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी भएका हुन् ।

ADVERTISEMENT

जगत् कल्याण र विश्व शान्तिको कामनासहित आयोजना गरिएको उक्त महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्मदेशना, स्वस्तिक वाचन तथा विभिन्न धार्मिक पूजापाठका विधि समावेश गरिएको थियो ।

ADVERTISEMENT

नेवाः बौद्ध तथा तान्त्रिक परम्पराअन्तर्गत विशेषगरी बज्रयान बौद्ध संस्कृतिमा अयुता हुति महायज्ञलाई दुर्लभ र महत्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ । आर्यावलोकितेश्वर सुधार समूहका अध्यक्ष निलकाजी शाक्यका अनुसार जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मच्छिन्द्रनाथ मन्दिर) लगायतका ऐतिहासिक विहारमा गुठी समुदायको सहभागितामा विशेष तान्त्रिक विधि र पञ्चोपचार पूजासहित यो महायज्ञ सम्पन्न गर्ने परम्परा छ ।

महायज्ञमा सहभागी राष्ट्रपति पौडेलले सेतो मच्छिन्द्रनाथ मन्दिरको दर्शन गर्नुका साथै हवनमा सहभागी भएर भेटीसमेत प्रदान गरेका थिए ।

कार्यक्रममा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।