काठमाडौं । सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
गत कात्तिक २७ गते राति करिब १० बजे गोडैता नगरपालिका–९ निवासी ३७ वर्षीय सुनील कुमार रायलाई कौडेना गाउँपालिका–२, फूलपरासीबाट अपहरण गरिएको थियो।
बरहथवा नगरपालिका–५ निवासी ३१ वर्षीय सन्तोष कुमार महतोसहित ४–५ जनाको समूहले दुईवटा मोटरसाइकलमा आएर रायलाई कुटपिट गर्दै पिकअप गाडीमा राखेर बरहथवातर्फ लगेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
घटनाबारे आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा जानकारी गराएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। त्यसक्रममा कात्तिक २८ गते बिहान करिब ९ बजे बरहथवा नगरपालिका–५ निवासी राजकुमार महतोको घरमा एउटा कोठाभित्र बन्धक बनाइएका रायलाई प्रहरीले सकुशल उद्धार गरेको हो।
उद्धारका क्रममा प्रहरीले सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिएको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरूलाई सोही दिन बरहथवा नगरपालिका–९ स्थित दूध डेरी चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ५४ वर्षीय विशेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो, २५ वर्षीय अमित कुमार महतो र ३१ वर्षीय सन्तोष कुमार महतो रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार वैदेशिक रोजगारीसम्बन्धी विवाद र सोही विषयको रकम जबर्जस्ती असुल गर्ने उद्देश्यले रायको अपहरण गरिएको खुलेको छ।
अपहरणकारीहरूले फिरौती रकमसमेत माग गरेको र फिरौती बुझाउन जाँदा तीन लाख रुपैयाँ तथा गरगहना लुटिएको भन्दै गलत सूचना दिएर घटनालाई अन्यत्र मोड्ने प्रयास गरेको प्रहरीको भनाइ छ।
पक्राउ परेका चारै जनामाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












