काठमाडौं । बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ। बाबा सिद्दिकी हत्याकाण्डका वान्टेड अभियुक्त जिशान अख्तरको नामबाट उनलाई धम्कीपूर्ण भ्वाइस सन्देश पठाइएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार उक्त सन्देशमा सैफलाई पनि बाबा सिद्दिकीको जस्तै हालत बनाइदिने चेतावनी दिइएको छ। सन्देशमा जिशान अख्तरको नाम उल्लेख भए पनि धम्की वास्तवमै उनले दिएका हुन् वा अरू कसैले उनको नाम प्रयोग गरेको हो भन्ने विषय अझै स्पष्ट भएको छैन।
मुम्बई प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। बिहीबार एक प्रहरी अधिकारीले धम्कीको सत्यता पत्ता लगाउने प्रयास भइरहेको बताएका छन्।
ती अधिकारीले पीटीआईसँग भनेका छन्, ‘अभिनेता सैफ अली खानलाई जिशान अख्तरको नाममा भ्वाइस सन्देश प्राप्त भएको छ। जसमा भनिएको छ– उनको पनि बाबा सिद्दिकीको जस्तै हालत हुनेछ।’
प्रहरीले धम्कीको स्रोत पहिचान गर्ने क्रममा सन्देश पठाउने व्यक्तिको वास्तविक परिचय र आवाजको विश्वसनीयताबारे अनुसन्धान गरिरहेको छ।
पछिल्ला केही सातायता बलिउडका कलाकारलाई धम्की दिने घटना बढेका छन्। यसअघि अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई पनि यस्तै प्रकृतिका धम्की आएको थियो।
यस घटनाले अर्को प्रश्नसमेत उठाएको छ—के कसैले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरेर चर्चित व्यक्तिको आवाज नक्कल गर्दै कलाकारहरूलाई धम्क्याइरहेको छ? आवाज नक्कल गरेर भ्वाइस सन्देश पठाइएको हुन सक्ने आशंकाबारे पनि अनुसन्धान आवश्यक देखिएको छ। तर, यस घटनामा एआई प्रयोग भएको पुष्टि भने भइसकेको छैन।












