हेटौँडा । हेटौँडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई शुक्रबार कान्ति लोकपथ प्रयोग गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार सूचना जारी गर्दै मंसिर ४ गते एक दिनका लागि उक्त सडकखण्ड हुँदै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गर्न अनुरोध गरेको हो ।
भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डीमा रहेको प्रसिद्ध त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा हरिबोधिनी एकादशीका दिन मेला लाग्ने भएकाले यस्तो व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए ।
मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने अनुमान गरिएको छ । मन्दिर क्षेत्रको सडक साँघुरो र भिरालो हुनुका साथै भौगोलिक अवस्था पनि जटिल रहेकाले सवारी आवागमन सहज र सुरक्षित बनाउन वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा जारी सूचनामा मंसिर ४ गते काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई आवतजावतका लागि कान्ति लोकपथ प्रयोग गर्न अनुरोध गरिएको छ ।












