काठमाडौं, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जाको ठूलो हिस्सा उपभोग र व्यापार क्षेत्रमा केन्द्रित रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार कुल कर्जाको २३.६० प्रतिशत उपभोग्य कर्जामा र १७.१३ प्रतिशत थोक तथा खुद्रा बिक्री क्षेत्रमा प्रवाह भएको छ। यी दुई क्षेत्रको हिस्सा मात्रै ४०.७३ प्रतिशत पुगेको छ।

प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप १३.८ प्रतिशतले वृद्धि भई ८३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा भने अघिल्लो वर्षको तुलनामा ६.५३ प्रतिशतले बढेर ५९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ।

ADVERTISEMENT

क्षेत्रगत कर्जा वितरणमा उपभोग्य कर्जाको हिस्सा सबैभन्दा धेरै २३.६० प्रतिशत रहेको छ। त्यसपछि थोक तथा खुद्रा बिक्री क्षेत्रमा १७.१३ प्रतिशत र गैरखाद्यवस्तु उत्पादनसम्बन्धी क्षेत्रमा १०.३० प्रतिशत कर्जा प्रवाह भएको छ।

ADVERTISEMENT

त्यस्तै, विद्युत्, ग्यास तथा पानी क्षेत्रमा ८.६३ प्रतिशत, वित्त, बिमा तथा अन्य सम्पत्ति क्षेत्रमा ७.०७ प्रतिशत, कृषि, वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी क्षेत्रमा ६.०८ प्रतिशत र कृषि तथा वनसम्बन्धी क्षेत्रमा ५.८५ प्रतिशत कर्जा रहेको छ।

अन्य क्षेत्रमा ५.०३ प्रतिशत, पर्यटन सेवामा ४.७३ प्रतिशत, निर्माण क्षेत्रमा ४.६१ प्रतिशत र अन्य सेवामा ३.८५ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ।

उत्पादन र पूर्वाधारसँग जोडिएका केही क्षेत्रमा कर्जाको हिस्सा तुलनात्मक रूपमा न्यून देखिएको छ। यातायात तथा सञ्चार क्षेत्रमा कुल कर्जाको १.८५ प्रतिशत, धातु उत्पादन, मेसिनरी तथा विद्युतीय उपकरण क्षेत्रमा १.२५ प्रतिशत, माछापालनसम्बन्धी क्षेत्रमा ०.२७ प्रतिशत र खानीसम्बन्धी क्षेत्रमा ०.२० प्रतिशत कर्जा रहेको छ।

स्थानीय सरकार क्षेत्रमा प्रवाह भएको कर्जाको हिस्सा सबैभन्दा न्यून ०.०२ प्रतिशत मात्रै छ। स्थानीय तहमा पूर्वाधार निर्माण, सेवा विस्तार तथा विकास आयोजना सञ्चालनका लागि लगानी आवश्यक पर्ने भए पनि बैंक तथा वित्तीय संस्थाको कुल कर्जा संरचनामा स्थानीय सरकारको हिस्सा अत्यन्त न्यून देखिएको छ।

राष्ट्र बैंकको प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाको कुल कर्जा कुन–कुन क्षेत्रमा केन्द्रित छ भन्ने देखाए पनि यी क्षेत्रको कर्जा उत्पादनशील वा अनुत्पादक भएको निष्कर्ष भने आफैँमा दिँदैन।