काठमाडौं । नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । भेलाले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्ने र सरकारका स्वेच्छाचारी गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने संकल्प गरेको छ ।
बुधबारदेखि सुरु भएको भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी तथा उपाध्यक्षहरू रामबहादुर थापा (बादल) र विष्णुप्रसाद पौडेलले विभिन्न कार्यपत्र प्रस्तुत गर्नुका साथै प्रशिक्षण दिएका थिए ।
करिब ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलामा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक राजनीतिक विषय समेटिएको २१ बुँदे संकल्प प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गरेका थिए । भेलाले उक्त प्रस्ताव पारित गरेको हो । प्रस्तावलाई पार्टीको प्रचार विभागले एकीकृत गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।
भेलाको समापन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन् । पार्टीभित्र एकता कायम गर्दै निर्वाचनको तयारीमा जुट्नुपर्नेमा उनले जोड दिएका थिए ।
भेला सम्पन्न भएपछि प्रतिनिधि तथा नेताहरू खाना खान गएका थिए । त्यसपछि केन्द्रीय कमिटी बैठक सुरु हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
केन्द्रीय कमिटी बैठकमा बाँकी रहेका केही नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुने बताइएको छ ।












