बागमती । बागमती प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आयोजनाअन्तर्गत मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माण भइरहेको महादेवटार सुरुङको ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै मन्त्री लम्सालले सरकारले द्रुतमार्ग निर्माण निर्धारित समयभन्दा तीन वर्षभन्दा बढी पछाडि धकेलिएको हेर्न नचाहेको बताए ।

ADVERTISEMENT

निर्माणमा ढिलाइ गर्ने कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने चेतावनी दिँदै उनले पटक–पटक लचकता अपनाएर निर्माण व्यवसायीलाई अवसर र सुविधा दिँदा पनि अपेक्षित परिणाम नआएको उल्लेख गरे । निर्धारित समयभित्र काम सम्पन्न नहुने अवस्था देखिए ठेक्का अन्त्य गर्न उनले निर्देशन दिए ।

ADVERTISEMENT

निर्माणको मुख्य सिजन सुरु भइसकेकाले आगामी जेठसम्म निर्धारित कार्यतालिकाअनुसार ठोस प्रगति देखिनुपर्ने उनको भनाइ थियो । मन्त्री लम्सालले द्रुतमार्गलाई सडक निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्तिको क्षमता र अनुभव अभिवृद्धि गर्ने अवसरका रूपमा समेत लिनुपर्ने बताए ।

आयोजनामा खटिएका नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिकहरू भविष्यमा ठूला पूर्वाधार आयोजना निर्माण गर्न सक्ने देशका अमूल्य सम्पत्ति बन्ने उनले उल्लेख गरे । यस्ता प्रकृतिका आयोजना विस्तार गर्ने सरकारको तयारी रहेको पनि उनले बताए ।

विपद् व्यवस्थापन तथा छोटो समयमै बेली ब्रिज निर्माणमा नेपाली सेनाले देखाएको कार्यक्षमताको प्रशंसा गर्दै मन्त्री लम्सालले आगामी दिनमा सरकारले सेनालाई अन्य विभिन्न पूर्वाधार आयोजनामा समेत सहभागी गराउने बताए ।