काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी)ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो–२०२६’ आयोजना गर्ने भएको छ।

नास–आईटीले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिएको हो।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा बोल्दै नास–आईटीका अध्यक्ष दीपेन चापागाईंले विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताए।

ADVERTISEMENT

उनका अनुसार एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसरसमेत हुनेछ। नेपालमा निर्माण भएका सफ्टवेयर तथा प्राविधिक उत्पादनले छोटो समयमै राम्रो उपलब्धि हासिल गरिरहेको भन्दै उनले यस्ता उत्पादनलाई नेपाली बजारमा परिचित गराउन एक्स्पोले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीलाई संगठित गर्दै प्रविधि उद्योगको विकास र विस्तार गर्ने उद्देश्यले नास–आईटी स्थापना गरिएको बताए। संस्थाले सुरुवाती चरणमा सूचना प्रविधिसम्बन्धी नीतिगत विषयमा काम गरेको र नेपाली उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तारमा समेत ध्यान दिएको उनको भनाइ छ।

‘सूचना र प्रविधिको क्षेत्रमा काम गर्ने सबै कम्पनी संगठित भएर यो क्षेत्रलाई अझ अगाडि बढाउन के गर्न सकिन्छ भन्ने उद्देश्यका साथ हामीले यो संस्थाको स्थापना गरेका हौँ,’ उनले भने, ‘शुरुवाती दिनमा हामीले आईटी पोलिसीका कुरामा फोकस गरिरहेका थियौँ। हाम्रा उत्पादन र सेवालाई अन्तर्राष्ट्रियस्तरमा कसरी लैजान सकिन्छ भनेर काम गरेका थियौँ। त्यसैलाई निरन्तरता दिन एक्स्पो आयोजना गर्न लागेका हौँ।’

एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छ क्षेत्रका ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन्।

नास–आईटीले यसअघि नोभेम्बर २०२५ मा पहिलो संस्करणको एक्स्पो आयोजना गरेको थियो। पहिलो संस्करणबाट प्राप्त अनुभवलाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोलाई थप प्रभावकारी बनाउने र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिने आयोजकको अपेक्षा छ।