काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले चीनसँग साझा राष्ट्रिय अवधारणा बनाएर सिन्धुपाल्चोकस्थित तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्ने बताएका छन् ।
सोमबार तातोपानी नाका सञ्चालनका विषयमा आयोजित सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद पराजुलीले नाकालाई पुनः प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारका विभिन्न निकायमार्फत आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले २०४७ सालको राजनीतिक परिवर्तनपछि तातोपानी नाका क्रमशः ओझेलमा पर्दै गएको उल्लेख गर्दै विगतका सरकारले यसलाई पर्याप्त प्राथमिकता दिन नसकेको बताए । विगतमा नाकाको महत्त्व र आवश्यकताअनुसार राष्ट्रिय स्तरबाट पहल हुन नसकेको उनको भनाइ थियो ।
पराजुलीले चीनले आफ्नोतर्फ खासामा आधुनिक पूर्वाधार निर्माण गरिरहेको उल्लेख गर्दै तातोपानी नाका पछाडि पर्नुमा चीनलाई मात्रै दोष दिन नमिल्ने बताए । नेपालले पनि आफ्नोतर्फ सडक, पुल तथा अन्य आवश्यक संरचना व्यवस्थित गर्न नसकेको उनको भनाइ थियो ।
‘चिनियाँ सरकारले खासामा त्यत्रा संरचनाहरू बनाउँदै गरेको हामीले आँखाले देखेका छौँ । उसले त्यत्तिकै छोडेको छैन । हामीले चीनलाई विश्वास दिलाउन सक्यौँ, साझा अवधारणा बनाउन सक्यौँ र नाकालाई पछि पार्नुपर्ने कुनै कारण छैन भनेर कन्भिन्स गराउन सक्यौँ भने यो नाका पूर्ववत् रूपमा सञ्चालन हुन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने ।
उनले तातोपानी नाका सञ्चालनमा आउँदा आयात ढुवानी खर्च घट्नुका साथै उपभोक्ताले वस्तु तथा सेवा सस्तो मूल्यमा प्राप्त गर्न सक्ने बताए । अन्य नाकाबाट सामान ल्याउँदा लामो दूरी तय गर्नुपर्ने र ढुवानी लागत बढ्ने भएकाले तातोपानी नाका आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।
पराजुलीका अनुसार तातोपानी नाकाबाट करिब ११४ किलोमिटरको दूरीमा सामान ल्याउन सकिने भए पनि अहिले करिब ५०० किलोमिटर टाढाबाट सामान ढुवानी गर्नुपर्ने अवस्था छ । उनले एक कन्टेनर सामान ल्याउँदा ६ लाख रुपैयाँसम्म ढुवानी खर्च लाग्ने अवस्थालाई घटाएर ५० हजार रुपैयाँसम्म पुर्याउन सकिने उदाहरण दिँदै नाका सञ्चालनको आवश्यकता औँल्याए ।
‘एक कन्टेनर सामान ल्याउन ६ लाख रुपैयाँ तिर्ने कि ५० हजार रुपैयाँ तिर्ने ? यो पनि ठूलो कुरा हो । राज्यले मूल्य नियन्त्रण गर्न र सर्वसाधारणलाई सुलभ मूल्यमा सामान उपलब्ध गराउन पनि यो बाटो सञ्चालन हुनुपर्छ,’ उनले भने ।
उनले तातोपानी नाकाले हालसम्म झन्डै ४ खर्ब रुपैयाँ बराबरको आर्थिक योगदान गरेको दाबी गर्दै यसको महत्त्वअनुसार पूर्वाधार विकासमा लगानी बढाउनुपर्ने बताए । उनका अनुसार नाकाको विकास र सञ्चालनका लागि सरकारले कम्तीमा ५ देखि ७ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने आवश्यकता छ ।
पराजुलीले नाका सञ्चालनको विषय उठाउनुअघि त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सडक, पुल, पहिरो नियन्त्रण, भन्सार तथा सुरक्षा निकायका संरचना व्यवस्थित नभएसम्म नाका प्रभावकारी रूपमा सञ्चालन गर्न कठिन हुने उनको भनाइ थियो ।
‘नाका खुल्छ, नाकाको कुरा नगर्नु, बाटो बनाउने पहिलो कुरा देखाऊ न । बाटो चाहिँ बनाऊ न । घर बनाउँदाखेरि कोठा कसले लिने भनेर पहिले झगडा गर्ने कि पहिला घर बनाउने ? त्यसैले नाका सञ्चालनको कुरा गर्नुभन्दा पहिले बाटो, पुल र आवश्यक पूर्वाधार निर्माणमा हाम्रो प्राथमिकता जानुपर्छ,’ उनले भने ।
उनले निर्माण कार्यमा ढिलाइ गर्ने व्यवसायीलाई हटाएर समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताए । साथै, बाह्रबिसेदेखि धुलिखेलसम्मको सडक खण्डको अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने योजना रहेको जानकारी दिए ।
पराजुलीले तातोपानी नाका सञ्चालनको विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्न सञ्चारमाध्यमले पनि निरन्तर आवाज उठाउनुपर्ने बताए । नाका सञ्चालनका लागि राजनीतिक दल, सरकार, स्थानीय तह र सरोकारवाला निकायबीच साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।












