काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया मंसिर ४ गतेदेखि सुरु हुने भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा सहभागी हुनेछन् । उनीहरूबाहेक अन्य प्रतिनिधि सक्रिय सदस्यहरूमध्येबाट छनोट गरिनेछ ।

ADVERTISEMENT

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको श्रेष्ठले बताए ।

ADVERTISEMENT

प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यहरूमध्येबाट प्रतिनिधि निर्वाचित गरिनेछ । प्रत्येक निर्वाचन क्षेत्रबाट महिला तीन जना, उत्पीडित समुदायबाट एक जना र आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी दुई जनासहित कुल नौ जना प्रतिनिधि चयन हुनेछन् ।

त्यस्तै, प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधिमा ४० वर्षमुनिका युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

हिमाल, पहाड र तराईको जनसंख्यागत प्रतिशतका आधारमा विधान तथा निर्देशिकाले निर्धारण गरेको संख्या र मापदण्ड पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट प्रतिनिधि छनोट गरिने पार्टीले जनाएको छ । यसका लागि मंसिर ४ देखि १० गतेसम्मको समयसीमा तोकिएको छ ।

राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदैछ । पार्टीका विभिन्न तहका अधिवेशन सम्पन्न भइसकेकाले अब सक्रिय सदस्यहरूमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गर्न लागिएको हो ।