एजेन्सी । अमेरिकी हवाई यातायात प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार देशभर करिब चार घण्टा उडान सेवा प्रभावित भएको छ । यसका कारण १५ हजारभन्दा बढी उडान ढिला भएका वा रद्द भएका छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार हवाई ट्राफिक नियन्त्रण केन्द्रका राडार र सञ्चार प्रणालीमा अवरोध आएपछि देशभरका विमानस्थलमा उडान रोक्नुपरेको थियो ।

ADVERTISEMENT

अमेरिकी यातायातमन्त्री सन डफीले पुरानो प्रविधि र उपकरणमा आएको समस्याका कारण प्रणाली अवरुद्ध भएको बताएका छन् । उनका अनुसार पुराना राउटर, स्विच र सञ्चार लाइनमा अत्यधिक भार परेपछि समस्या उत्पन्न भएको हो ।

ADVERTISEMENT

गृह सुरक्षा सचिव मार्कवेन मुलिनले भने उक्त घटना साइबर आक्रमणका कारण भएको कुनै प्रमाण नरहेको स्पष्ट पारेका छन् ।

उडान अनुगमन गर्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार शुक्रबार राति ९ बजेसम्म अमेरिकामा आठ हजारभन्दा बढी उडान ढिला भएका थिए भने करिब सात हजार उडान रद्द भएका थिए ।

सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि अमेरिकामा देशव्यापी रूपमा उडान रोकिएको यो दोस्रो घटना हो । यसअघि सन् २०२३ मा उडानसम्बन्धी सूचना प्रणालीमा आएको खराबीका कारण देशभर उडान सेवा रोकिएको थियो ।

यस घटनाबारे अनुसन्धान गर्न अमेरिकी सिनेटर रिचर्ड ब्लुमेन्थलले माग गरेका छन् ।