काठमाडौं । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरेको हो।
यस जितसँगै पाँचौँ जित निकालेको सुदूरपश्चिम १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। काठमाडौंको भने ८ अंक छ। एक खेल खेल्न बाँकी रहेकाले काठमाडौंको प्लेअफ सम्भावना कायमै छ।
सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो। काठमाडौंका रासिद खानले सर्वाधिक ३५ तथा दुसान हेमान्थाले २१ रन बनाए।
सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। उसका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै ६० रन बनाए। आरिफ शेखले २१ र थरिन्दु रत्नायकेले २६ रनको योगदान गरे।
८ रन जोड्दा ४ विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमको इनिङ्सलाई ऐरी र शेखले सम्हालेका थिए। यी दुईबीच भएको ५४ रनको साझेदारीले टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याएको थियो।
काठमाडौंका जहानदाद खानले ३ तथा सन्तोष यादवले २ विकेट लिए।आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुँदैछन्।












