काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाका प्रतीक मानिने सिंहले प्रजातन्त्र पुनःस्थापनापछि प्रधानमन्त्री बन्ने अवसरसमेत त्यागेका थिए। २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह उनले अस्वीकार गर्दै समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए। उनको यो निर्णय नेपाली राजनीतिमा त्यागको उदाहरणका रूपमा स्मरण गरिन्छ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो। खानदानी परिवारमा जन्मिए पनि उनले आफ्नो जीवन प्रजातन्त्र स्थापनाका लागि समर्पित गरेका थिए।
सिंह १९९७ सालमा स्थापित नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य बनेर राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भएका थिए। राणा शासन अन्त्य गर्ने अभियानमा लागेकै कारण उनी जेल परे। २००७ सालअघि भद्रगोल जेलबाट भागेर भारत पुगेका उनले त्यहाँ बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विस्तार गरेका थिए।
२००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई संगठित र सशक्त बनाउन पनि उनको महत्वपूर्ण भूमिका थियो। २००७ सालको क्रान्तिमा उनले वीरगञ्ज मोर्चाबाट सशस्त्र सङ्घर्षको नेतृत्व गरेका थिए।
२०१५ सालको पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बनेका सिंह २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि पक्राउ परे। उनले आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा बिताए। २०२५ सालमा बीपी कोइरालासँगै रिहा भएपछि उनी राजनीतिक सङ्गठन विस्तारका लागि भारत निर्वासनमा गएका थिए।
२०३३ साल पुस १६ गते बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका सिंह त्यसपछि पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय रहे।
२०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। बीपीको निधनपछि कांग्रेसको सर्वोच्च नेताका रूपमा उनले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरेका थिए।
२०४६ सालको जनआन्दोलनमा कम्युनिस्ट शक्तिसँग सहकार्य गर्दै पञ्चायतविरुद्ध आन्दोलनको नेतृत्व गरेका सिंह आन्दोलनका सर्वोच्च कमाण्डर बनेका थिए। उनको नेतृत्वमा भएको आन्दोलनले देशमा प्रजातन्त्र पुनःस्थापनाको बाटो खोलेको थियो।
बीपी कोइरालासँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा समेत विशेष अदालतबाट सफाइ पाएका सिंहको राजनीतिक जीवन संघर्ष र त्यागले भरिएको थियो।
२०६१ भदौ २४ गते सुन्दरीजलस्थित बन्दीगृहलाई बीपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको थियो। त्यहाँ बीपी, गणेशमानलगायत बन्दी बनाइएका नेताका सालिकसहितका संरचना निर्माण गरिएका छन्।
गणेशमान जयन्तीका अवसरमा आज नेपाली कांग्रेसका दुवै समूह, भ्रातृ तथा शुभेच्छुक संस्था र गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगायतले विभिन्न कार्यक्रम आयोजना गर्ने जनाइएको छ।












