काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा कलाकारहरूले पनि उल्लास र उमङ्गका साथ लक्ष्मीपूजा मनाएका छन् । आइतबार लक्ष्मीपूजाका दिन विभिन्न कलाकारले सामाजिक सञ्जालमार्फत आफ्ना पूजाआजा, रङ्गोली, देउसीभैलो तथा पारिवारिक रमाइलोका तस्बिर र भिडियो सार्वजनिक गरेका छन् ।

कलाकार करिश्मा मानन्धरले रङ्गोली बनाएर आँगन सजाएको तस्बिर तथा भिडियो साझा गरेकी छन् । उनले आफ्ना प्रियजनसँग भैलो खेलेको रमाइलो भिडियोसमेत सार्वजनिक गर्दै माया, आत्मीयता र खुसीले भरिएको क्षणका रूपमा तिहारको अनुभव सुनाएकी छन् ।

ADVERTISEMENT

हास्यव्यङ्ग्य क्षेत्रका वरिष्ठ कलाकार हरिवंश आचार्यले पूजाकोठाबाट पारिवारिक तस्बिर सार्वजनिक गर्दै सबैलाई तिहारको शुभकामना दिएका छन् ।त्यस्तै, नायिका रेखा थापाले छोरी वैभवी राज्यलक्ष्मीसँग रङ्गोली बनाउँदै रमाइलो गरेको तथा देउसीभैलो खेलेको भिडियो फेसबुकमा साझा गरेकी छन् ।

ADVERTISEMENT

नायिका पूजा शर्माले धन, सुख, शान्ति र समृद्धिको कामना गर्दै रङ्गोली बनाएर लक्ष्मीपूजा गरेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले श्रीमान्सँग दियो तथा झिरझिरे बालेर तिहार मनाएको भिडियोसमेत साझा गरेकी छन् ।

नायिका गरिमा पन्तले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तिहारको शुभकामना दिँदै दीपावलीका तस्बिर सार्वजनिक गरेकी छन् ।गायक प्रमोद खरेलले सबैको घरमा लक्ष्मी माताको वास होस् र सुख, शान्ति तथा समृद्धि छाओस् भन्ने कामनासहित तिहारको शुभकामना दिएका छन् ।

यस्तै, कलाकार जयकिसान बस्नेतले पारिवारिक तस्बिरसँगै झिलिमिली बत्तीले सजाइएको घरको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।कलाकारका यी तस्बिर तथा भिडियोले तिहारको सांस्कृतिक रौनक, पारिवारिक आत्मीयता र खुसीलाई सामाजिक सञ्जालमा झल्काएका छन् ।