काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला वरपरको सडक कालोपत्र गर्न निर्माण कम्पनी छनोट भएको छ। सडक डिभिजन कार्यालय काठमाडौंले नयाँयुग–मालिन्य जेभीलाई ६ करोड ७४ लाख ८७ हजार रुपैयाँमा ठेक्का दिएको हो।

सडक डिभिजन कार्यालय काठमाडौंले शनिबार जारी गरेको सूचनाअनुसार निर्माण कम्पनी छनोट गरिएको हो। सम्झौताअनुसार निर्माण कम्पनीले बढीमा ९० दिनभित्र सडक कालोपत्र र पानी व्यवस्थापनको काम सम्पन्न गर्नुपर्नेछ।

ADVERTISEMENT

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाका अनुसार द्रुत प्रक्रियाबाट ठेक्का सम्झौता गरी काम अघि बढाउन लागिएको छ। तिहारको बिदाका कारण केही ढिलाइ भए पनि सोमबार सम्झौता गरेर निर्माणको काम सुरु गर्ने तयारी छ।

ADVERTISEMENT

रंगशालामा नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएकाले निर्माणलाई तीव्रता दिन लागिएको देवकोटाले बताए। ९० दिनको समयसीमा तोकिए पनि त्योभन्दा अगावै काम सम्पन्न हुन सक्ने उनको भनाइ छ।

कालोपत्र गर्नुअघि सडकमा पानीको उचित निकास व्यवस्थापन गरिनेछ। सडक कच्ची हुँदा उड्ने धूलोले खेलाडी तथा नेपाल क्रिकेट संघलाई समस्या परेको गुनासो आएपछि तत्कालका लागि पानी हाल्ने व्यवस्था गरिएको पनि देवकोटाले जानकारी दिए।

हाल त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सञ्चालन भइरहेको छ। रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नियमित हुने भएकाले सडक पूर्वाधार सुधारलाई महत्त्वका साथ अघि बढाइएको हो।

नेपालले बंगलादेशसँग मिलेर आगामी जनवरी २३ अर्थात् माघ ९ गतेदेखि यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ। नेपालले पहिलोपटक आयोजना गर्न लागेको उक्त प्रतियोगिताका अधिकांश खेल त्रिवि क्रिकेट मैदानमै हुनेछन्।

नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंहले सडक कालोपत्र तथा पानी निकासको व्यवस्था हुन लागेकोमा खुसी व्यक्त गरेका छन्। सडकको अवस्था सुधार हुँदा खेलाडीलाई आवतजावतमा सहज हुने र विदेशी खेलाडीमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।