काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्मा परी बेपत्ता भएका २ हजार २ सय ९४ जना नेपाली र १७१ जना विदेशी नागरिकको विवरण सार्वजनिक गर्दै दाबी, थपघट वा संशोधनका लागि सात दिनको म्याद दिएको छ।

गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले ‘विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ बमोजिम शनिबार सार्वजनिक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो।

ADVERTISEMENT

 प्राधिकरणका अनुसार देशका ३२ वटा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट हालसम्म २ हजार २ सय ९४ जना बेपत्ता व्यक्तिहरूको विवरण यकिन भई आएको छ।

ADVERTISEMENT

सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी रसुवाका १ हजार ५ सय ३८ जना र सिन्धुपाल्चोकका २ सय १९ जना रहेका छन्। यसैगरी जुम्लाका ६३, कैलालीका ५१, सर्लाहीका ५१, बर्दियाका ४४, दाङका ३८, रामेछापका ३७, सिन्धुलीका ३७, काभ्रेपलाञ्चोकका ३५ तथा ललितपुरका १४ जना लगायत विभिन्न जिल्लाका बेपत्ता नागरिक सूचीकृत भएका छन्।

 त्यसैगरी नेपालस्थित ७ वटा विदेशी नियोग तथा दूतावासमार्फत हालसम्म १७१ जना विदेशी नागरिक बेपत्ता रहेको विवरण प्राप्त भएको छ। जसमा मलेसिया र युक्रेनका ५४–५४ जना, अस्ट्रेलियाका ३३ जना, रुसका ११ जना, दक्षिण कोरियाका ९ जना, जर्मनीका ८ जना र इटालीका २ जना नागरिक रहेका छन्।

 बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा निजको एकाघरको परिवारले सात दिनभित्र सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्राधिकरणमा दाबी पेश गर्न आग्रह गरिएको छ। सार्वजनिक गरिएको विवरणमा कुनै फरक परेमा प्राधिकरणको इमेल ([email protected]) तथा मोबाइल नम्बरहरू (९८५१३२०२६९ वा ९८४९२८१०९७) मार्फत जानकारी गराउन सकिनेछ।

विदेशी नागरिकको विवरण सच्याउन वा बुझ्नका लागि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।

11