काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १९औं वार्षिकोत्सव मनाएको छ । बैंकले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

बैंकले बिहीबार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । विभिन्न स्थानमा सम्पन्न भएको रक्तदान कार्यक्रमबाट कुल ४२९ पिन्ट रगत संकलन भएको छ ।

बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले बैंकको बुटवल क्षेत्रमा भएको रक्तदान कार्यक्रमको समुद्घाटन गरेका थिए । केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसञ्चार केन्द्रकी भावना पाण्डेलाई ब्लड व्याग हस्तान्तरण गरी समुद्घाटन गरेका थिए ।

ADVERTISEMENT

कोशी प्रदेशको विराटनगर शाखा, मधेश प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको नारायणगढ शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरुको उपस्थिति थियो ।

ADVERTISEMENT

बैंकले वार्षिकोत्सवको अवसरमा अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल कप (पाँचौं संस्करण) पनि आयोजना गरेको थियो । प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएको थियो ।

ADVERTISEMENT

वार्षिकोत्सवकै अवसरमा बैंकको अमरसिंह शाखाले अमरसिंह उच्च मावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तिय साक्षरता कार्यक्रम समेत सम्पन्न गरेका छन् ।

वार्षिकोत्सवको अवसर पारेर बैंकले नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ समेत सार्वजनिक गरेको छ । बैंकका अनुसार यो खाता १८ वर्षसम्मका उमेर समूहका बालबालिकालाई लक्षित गरिएको हो ।

‘अल्फा ग्रो’ खाताको विशेषतामा, खाता खोल्ने ग्राहकहरुलाई बैंकले आकर्षक खुत्रुके उपलव्ध गराउने र खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ । उक्त जीवन बीमाको प्रिमियम, खातावाला १८ वर्ष नपुग्दासम्म बैंकले नै भुक्तानी गर्ने बैंकले जनाएको छ । जसले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।