काठमाडौं । धादिङमा पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ भने ९ जना यात्रु घाइते भएका छन्।

शनिबार साँझ गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बा.प्र.०१–००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल कल्भर्टमा खसेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

दुर्घटनाका क्रममा सडकमा हिँडिरहेका स्थानीय ५० वर्षीय सिताराम अधिकारीलाई माइक्रोबसले किचेको थियो। उद्धार गरी उपचारका लागि बैरेनी अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले राति पौने ९ बजे मृत घोषणा गरेका थिए।

ADVERTISEMENT

माइक्रोमा चालकसहित १० जना सवार रहेकामा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनालाई बैरेनी अस्पतालमा उपचारका लागि पठाइएको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको प्रहरीले जनाएको छ।

ट्रमा सेन्टर रिफर गरिएका घाइतेमा कास्कीका तिला नेपाली, स्याङ्जाकी सुनिता राई र कास्कीका राजकुमार ढकाल रहेका छन्।

बैरेनी अस्पतालमा उपचारका लागि पठाइएका घाइतेमा लमजुङका सजन गुरुङ, सोलुखुम्बुका चन्द्र नाछिरिङ राई र भरत राई, स्याङ्जाका नवराज चौलागाईं र युवराज पौडेल तथा भोजपुरका सुरेन्द्र तामाङ रहेका छन्।

दुर्घटनामा परेको हाइसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।