काठमाडौं । वर्षासँगै आएको बाढीपहिरो र सडक कटानका कारण मंगलबार पनि देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । केही राजमार्गमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् ।

प्रहरीका अनुसार गोरखाको आरुघाट क्षेत्रमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोतीस्थित फलामे पुलमा क्षति पुगेपछि गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडकसमेत अवरुद्ध भएको छ ।

ADVERTISEMENT

आरुघाट–९ स्थित नयाँ पुल क्षेत्रमा पनि बाढीको प्रभाव परेको छ । उक्त सडकखण्डमा साना सवारीसाधन एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेका छन् ।

ADVERTISEMENT

यस्तै, सुर्खेतमा पहिरोका कारण कर्णाली राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन चलिरहेका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको छ ।

रसुवामा गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण सडक सञ्जालमा क्षति पुगेको छ । त्यसको प्रभावले जिल्लाका विभिन्न स्थानमा सडक आवागमन अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरो प्रभावित सडकमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आवश्यक छ ।