काठमाडौं । पीएचपी प्रोग्रामिङ ल्याङ्ग्वेजमा देखिएको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू पुनः सञ्चालनमा आउन थालेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात कार्यालय, मालपोत कार्यालय र नेपाल राष्ट्र बैंकलगायत अधिकांश सरकारी निकायका वेबसाइट अहिले खुल्न थालेका छन्।
नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच लागू गरी आवश्यक परीक्षण सम्पन्न गरेपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा सामान्य रूपमा सञ्चालनमा आएका हुन्। बाँकी सेवाहरू पनि सञ्चालनमा ल्याउन केन्द्रका कर्मचारीहरू खटिएका छन्।
साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई पीएचपीको सुरक्षा अपडेट तत्काल लागू गर्न निर्देशन दिएका थिए। सुरक्षा अपडेट लागू गर्न नसक्ने अवस्थामा वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न आग्रह गरिएको थियो। सोही कारण नेपालका सरकारी वेबसाइटहरू पनि बन्द भएका थिए।
केन्द्रका अनुसार सेवा पुनः सञ्चालनमा ल्याउन कर्मचारीहरूले दसैँ बिदामा समेत निरन्तर काम गरेका थिए।












