धादिङ । कुनै समय सवारी जाम, धुवाँधुलो र घण्टौँको प्रतीक्षाले यात्रुलाई हैरान बनाउने नागढुंगा सडकखण्ड यस वर्षको दशैंमा शान्त देखिएको छ। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि राजधानी प्रवेश गर्ने प्रमुख नाकामध्ये एक नागढुंगा क्षेत्रमा सवारी चाप घटेको छ भने यात्राले पनि सहजता पाएको छ।
करिब ६८ जिल्लाबाट काठमाडौं प्रवेश गर्ने यात्रुका लागि महत्वपूर्ण मानिने नागढुंगा–नौबिसे सडकखण्डमा विगतमा दशैं–तिहारजस्ता ठूला चाडपर्वका बेला घण्टौँ जाम हुने गरेको थियो। उकालो र घुम्ती सडकमा ठूला सवारीसाधनको चाप, धुवाँधुलो र हर्नको आवाजले यात्रुहरूलाई सास्ती दिने गरेको थियो। अहिले सुरुङमार्गबाट सवारीसाधन सहज रूपमा आवतजावत गर्न थालेपछि पुरानो समस्या धेरै हदसम्म कम भएको छ।

यसले विशेषगरी बालबालिका, वृद्धवृद्धा र सवारीमा यात्रा गर्दा समस्या भोग्ने यात्रुलाई राहत दिएको छ। पहिले जामका कारण सडकमा लामो समय बिताउनुपर्ने यात्रु अहिले सहज रूपमा गन्तव्यमा पुग्न थालेका छन्।
चितवनकी कृष्टी पौडेलका लागि पनि नागढुंगाको यात्रा पहिलेभन्दा सहज बनेको छ। पिपलमोडको तल्लो घुम्तीमा स्कुटर रोकेर आराम गरिरहेकी उनले विगतमा गाडीमा यात्रा गर्दा बान्ता हुने समस्याले दशैंमा घर जानसमेत मन नलाग्ने गरेको सुनाइन्। यसपटक सडक सहज भएको सुनेपछि स्कुटरमै यात्रा गरेको र सोचेभन्दा सजिलै बाटो पार गर्न पाएको उनले बताइन्।
त्यस्तै, रामजी वस्तीले पनि विगतका दशैंमा नागढुंगा पार गर्दा युद्ध लडेजस्तो अनुभव हुने गरेको बताए। सवारीसाधन सुरुङमार्गबाट जान थालेपछि यस वर्ष बाटोमा रोकिएर वरपरको दृश्य हेर्दै आनन्दले यात्रा गर्न पाएको उनको भनाइ छ।
सुरुङमार्गको प्रवेशद्वार र आसपासको दृश्य हेर्न तथा तस्बिर खिच्न यात्रुहरू स्वेच्छाले रोकिन थालेका छन्। पहिले जामका कारण बाध्य भएर सडकमा रोकिनुपर्ने अवस्था अहिले बदलिएको यात्रुहरूको अनुभव छ।
तनहुँकी चेली मगरले पनि सुरुङमार्गबाट यात्रा गर्दा विगतको तुलनामा निकै सहज महसुस गरेको बताइन्। जाम, धुवाँधुलो र गाडीभित्रै घण्टौँ बिताउनुपर्ने समस्याले दशैं–तिहारमा घर आउजाउ गर्न कठिन हुने गरेको स्मरण गर्दै उनले पहिलोपटक सुरुङभित्रबाट यात्रा गर्दा सपना जस्तै लागेको सुनाइन्।
२.६८ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको यस सुरुङमार्गको शिलान्यास २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। मुख्य सुरुङको ब्रेकथ्रु तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पालामा भएको थियो।
सुरुङमार्ग सञ्चालनसँगै नागढुंगा सडकखण्डमा देखिँदै आएको सवारी चाप र यात्रुको सास्ती घट्न थालेको छ। यसले चाडपर्वका बेला राजधानीबाट बाहिरिने र राजधानी भित्रिने यात्रुको यात्रा सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।











