ललितपुर, दशैँको माहोललाई लक्षित गर्दै जावलाखेलस्थित जोइन्ट बार एण्ड ग्रिलमा ‘नवौ पुल खसी कप’ सम्पन्न भएको छ। पप अप कार्निभलको आयोजनामा भएको यस विशेष प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाएका थिए।
जोइन्ट बार एण्ड ग्रिलले आयोजना गरेको यस कार्यक्रममा करिब २० वटा स्टल राखिएका थिए। रिब, पेय पदार्थदेखि लिएर विभिन्न मनोरञ्जनात्मक सामग्री र खेलकुदसमेत राखिएको स्टलले सहभागी तथा दर्शकलाई आकर्षित गरेको थियो। स्टलहरू मध्ये ‘जून_एन पि’ लाई उत्कृष्ट स्टल घोषित गरिएको आयोजकले जानकारी दिएका छन्।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन ‘फुल सर्कल’ ले गरेको थियो। सहभागीहरूबीच पुल खसी कप निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको आयोजकहरूको भनाइ छ। प्रतियोगिता विभिन्न चरणमा सम्पन्न भएको थियो, जसअनुसार पहिलो राउण्डमा २६ जना, दोस्रो राउण्डमा १३ जना र तेस्रो राउण्डमा ६ जना क्रमशः प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिता राति अबेरसम्म चल्दै बिहान १ बजेसम्म पुगेको थियो। अन्तिम चरणमा टोखाका दिनेश कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै ३५ केजी तौलको खसी जितेर उपाधि आफ्नो नाममा लेखाउन सफल भए।
आयोजक कम्पनि पावर एकासीका संचालक मोदनाथ सिम्खडा का अनुसार यस्ता प्रतियोगिता करिब डेढ वर्षमा आठ पटकसम्म भइसकेका छन्। उनले भने, “यो नवौ पुल खसी कप विशेषगरी दशैँलाई लक्षित गरेर आयोजना गरिएको हो। सहभागी र दर्शकहरूको उत्साहजनक उपस्थिति हाम्रो लागि ऊर्जा बनेको छ।”
सोही अवसरमा जोइन्ट बार एण्ड ग्रिलका सञ्चालक बिमल कार्कीले यस्ता कार्यक्रमले सामाजिक सद्भाव बढाउने उल्लेख गर्दै भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। उनले भने, “खेलले दाजुभाइ, दिदीबहिनीबीच आपसी समझदारी र मित्रता कायम गराउँछ। हामीले यसैलाई केन्द्रमा राखेर यस्ता प्रतियोगिता आयोजना गर्दै आएका छौँ। आगामी दिनमा अझ भव्य रूपमा कार्यक्रम गर्ने योजना छ।”
यस कार्यक्रममार्फत स्थानीय व्यवसाय र उद्यमीलाई पनि प्रोत्साहन मिलेको आयोजकको दाबी छ। स्टल राख्नेहरूका लागि यो राम्रो अवसर बनेको छ भने सहभागीहरूका लागि मनोरञ्जनसँगै समुदायसँगको सम्बन्धलाई बलियो बनाउन सहयोग पुगेको छ।
कार्यक्रममा सहभागीहरूले यसलाई दशैँको माहोलसँग मेल खाने अनौठो अनुभवको रूपमा लिएका छन्। स्थानीय युवादेखि परिवारसम्मको सहभागिताले जावलाखेलको वातावरणलाई उल्लासमय बनाएको थियो।
यसरी सम्पन्न नौ पुल खसी कपले खेल, मनोरञ्जन र सामाजिक सद्भावलाई एउटै मञ्चमा ल्याउने काम गरेको छ। आयोजकको भनाइमा, यस्ता कार्यक्रमले नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।







