काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न दीक्षित प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका हुन्।
उनले पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि तथा मापदण्डको सही पालना गर्नुपर्ने बताए। जिम्मेवारीप्रति जवाफदेहिता पनि पेसागत सफलताको महत्त्वपूर्ण आधार भएको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकका स्वतन्त्रता र अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको उल्लेख गरे। यस्तो जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी भेदभावरहित ढङ्गले कर्तव्य पूरा गर्न उनले आग्रह गरे।
‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला,’ उनले भने।
प्रहरी सङ्गठनभित्र सहयोग, सहकार्य र प्रतिबद्धताका साथ काम गर्न आग्रह गर्दै प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगबाट प्रहरीको कामलाई छिटो, सहज, पारदर्शी र प्रभावकारी बनाउन सकिने बताए। प्रविधिको सही प्रयोगले अपराध अनुसन्धान समयमै सम्पन्न गर्न र घटनालाई नियन्त्रणमा लिनसमेत सहयोग पुग्ने उनको भनाइ थियो।
उनले अपराध अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी बनाउन सूचना प्रविधिको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिए। यसका लागि प्रहरी सङ्गठनको नेतृत्व तथा तालिम प्रणालीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए।
दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिम पूरा गरेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकाल र उज्ज्वल भविष्यको शुभकामना दिए। प्रहरी सेवामा आबद्ध हुन प्रेरित गर्ने परिवारजनप्रति पनि उनले आभार व्यक्त गरे।
समारोहमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहका ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्।







