काठमाडौं, काठमाडौं उपत्यकामा ग्यासको आपूर्ति सहज बनाउन उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर दिएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्ने व्यवस्था मिलाइने भएको छ।
सरकारले यसअघि नै उपभोक्ताले आफूले प्रयोग गर्ने ब्रान्डको ग्यास नपाए अर्को कम्पनीको सिलिन्डर समान मूल्यमा साटेर ग्यास उपलब्ध गराउन नेपाल आयल निगम र उद्योगीलाई निर्देशन दिएको थियो।
नेपाल आयल निगमका अनुसार एउटामात्र सिलिन्डर भएका उपभोक्ताले ब्रान्ड फरक परेकै कारण ग्यास नपाउने अवस्था अन्त्य गर्न उद्योगीहरूलाई क्रस–एक्सचेन्ज गर्न आग्रह गरिएको हो। यसका लागि उपभोक्ताबाट थप शुल्क नलिने व्यवस्था गरिनेछ।
ग्यास उद्योगीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी गरेका छन्। संकलन भएका फरक कम्पनीका खाली सिलिन्डर उद्योगहरूले पछि आपसमा व्यवस्थापन गर्नेछन्।
ग्यासको दुरुपयोग रोक्न वास्तविक उपभोक्तालाई मात्र सुविधा दिने र परिचय तथा मोबाइल नम्बरको विवरण राखेर ग्यास वितरण गर्ने तयारी छ।
यसअघि आपूर्ति अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट काठमाडौंमा ठूलो मात्रामा ग्यास ल्याइएको थियो। भदौ २४ गते मात्रै २२ उद्योगले उपत्यकामा ४६ हजार ९७६ सिलिन्डर बजार पठाएका थिए।
दसैंमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भए पनि काठमाडौंमै बस्ने, विशेषगरी एउटामात्र सिलिन्डर भएका परिवारका लागि यो व्यवस्था तत्काल राहत बन्ने अपेक्षा गरिएको छ।







