काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ। अकेला यसअघि बैंकमा नायब महाप्रबन्धक तथा प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीमा कार्यरत थिए।
अकेलासँग बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव रहेको छ। उनले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००६ देखि उनी ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन्।
बैंकिङ यात्राका क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका महत्वपूर्ण क्षेत्रमा जिम्मेवारी सम्हालिसकेका छन्।
यसैगरी, अकेला ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको जिम्मेवारीमा समेत छन्।
उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन्।
अकेलाको लामो बैंकिङ अनुभव, जोखिम व्यवस्थापनसम्बन्धी दक्षता तथा कार्यसञ्चालन क्षमताले बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ।
त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयरलगायतका सम्मानसमेत प्राप्त गरेको छ।
ग्लोबल आइएमई बैंकका अनुसार बैंक मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका मुलुकबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ।







