शारदा (सल्यान), असोज १९ । राप्ती राजमार्गअन्तर्गत कपुरकोट–तुलसीपुर सडकखण्डमा सुख्खा पहिरो खसेपछि सोमबार बिहानदेखि यातायात अवरुद्ध भएको छ।कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिक बिहान करिब ११ः३० बजे एक्कासि सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
सल्यान प्रहरीले चोरखोला नजिक करिब ८० मिटर सडक क्षेत्रमा पहिरो खसेको जनाएको छ। पहिरोका कारण ठूलो सङ्ख्यामा साना तथा ठूला सवारीसाधन बीच बाटोमै रोकिएका छन्। पहिरो पन्छाउन स्काभेटर प्रयोग गरेर काम सुरु गरिएको छ। सडकमा खसेको पहिरोको मात्रा र सडकको अवस्थाका कारण यातायात नियमित हुन चारदेखि पाँच घण्टासम्म लाग्न सक्ने प्रहरी चौकी कपुरकोटले जनाएको छ। सडक अवरुद्ध भएपछि कपुरकोट हुँदै तुलसीपुरतर्फ जाने तथा तुलसीपुरबाट सल्यानतर्फ आउने सवारीसाधन बाटोमै रोकिएका छन्।
राप्ती राजमार्ग सल्यानलाई दाङ, तुलसीपुरलगायत अन्य जिल्लासँग जोड्ने प्रमुख सडक भएकाले पहिरोका कारण यातायात प्रभावित भएको हो। पहिरो पूर्ण रूपमा पन्छाएपछि मात्र सडकमा नियमित सवारी सञ्चालन हुने प्रहरीले जनाएको छ।
वर्षात्को समय सकिए पनि राजमार्गका विभिन्न क्षेत्रमा सुख्खा पहिरो तथा ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।












