सुर्खेत । दसैं नजिकिँदै गर्दा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो चामलविहीन बनेको छ। डिपोमा मौज्दात सकिएपछि दुर्गम क्षेत्रका स्थानीय सहुलियत मूल्यमा पाइने सरकारी चामलबाट वञ्चित हुने अवस्था देखिएको छ।

डिपोमा चामलसँगै कर्मचारीसमेत नरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख केशव गिरीले जानकारी दिए। उनका अनुसार सडक अवरुद्ध भएका कारण पुलुसम्म ट्रकबाट चामल ढुवानी गर्न सकिएको छैन। सडकमार्ग सहज नभएपछि अब खच्चडबाट खाद्यान्न पुर्‍याउनुपर्ने अवस्था रहेको उनले बताए।

ADVERTISEMENT

‘पुलु डिपोमा अहिले चामल छैन। सडक अवरुद्ध भएकाले खच्चडबाट ढुवानी गरेर लैजानुपर्ने अवस्था छ,’ गिरीले भने, ‘सुर्खेतस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट सिधै चामल ढुवानी गर्ने तयारी भइरहेको छ।’

ADVERTISEMENT

मुगुको भौगोलिक विकटताका कारण जिल्लाका दुर्गम बस्तीमा खाद्यान्न पुर्‍याउन सडक तथा स्थलमार्गमै निर्भर हुनुपर्ने अवस्था छ। पछिल्लो समय वर्षा र पहिरोका कारण नाग्म–गमगढी सडकसहित जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध हुँदा खाद्यान्न ढुवानी प्रभावित भएको हो।

असोजको दोस्रो सातासम्म नाग्म–गमगढी सडकखण्डअन्तर्गत ताल्चामा सडक अवरुद्ध रहेको विवरण सार्वजनिक भएको थियो। सडक अवरुद्ध हुँदा खाद्यान्नसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत असर परेको थियो।

ADVERTISEMENT

मुगुमकार्मारोङ गाउँपालिका जोड्ने गमगढी–पुलु सडकमा यातायात सहज नहुँदा डिपोमा चामल पुर्‍याउन थप समस्या भएको छ। सडक सञ्चालनमा रहेका ठाउँसम्म ट्रकबाट खाद्यान्न लैजान सकिए पनि सडक अवरुद्ध भएपछि दुर्गम बस्तीमा खच्चडलगायतका साधन प्रयोग गर्नुपर्ने बाध्यता छ।

अत्यधिक चिसो, सीमित खेतीयोग्य जमिन र वर्षमा एक बाली मात्र उत्पादन हुने अवस्थाका कारण मुगुमकार्मारोङलगायत उत्तरी क्षेत्रमा बाहिरबाट खाद्यान्न आपूर्ति गर्नुपर्ने अवस्था छ।

गमगढीमा २८ सय क्विन्टल चामल मौज्दात

मुगु सदरमुकाम गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखामा भने अहिले करिब २८ सय क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख गिरीले बताए। उनका अनुसार उपभोक्तालाई एकपटकमा प्रतिव्यक्ति २५ किलोका दरले चामल बिक्री भइरहेको छ।

दसैं–तिहारजस्ता चाडपर्व नजिकिएसँगै खाद्यान्नको माग बढ्ने भए पनि सदरमुकाममा तत्कालका लागि पर्याप्त चामल रहेको उनले बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मुगु शाखाबाट चिनीसमेत बिक्री भइरहेको छ। जिल्लामा ५० क्विन्टल चिनी आएको र प्रतिव्यक्ति पाँच किलोका दरले बिक्री भइरहेको गिरीले जानकारी दिए।

मुगुमा तीन डिपो, आपूर्तिको समस्या कायमै

मुगुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका तीनवटा दुर्गम डिपो सञ्चालनमा छन्। सोरु गाउँपालिकाको सोरुकोट, मुगुमकार्मारोङ गाउँपालिकाको पुलु र खप्तड छेडेदह गाउँपालिकाको श्रीकोटमा डिपो छन्। सदरमुकाम गमगढीमा भने शाखा कार्यालय तथा मुख्य बिक्री केन्द्र रहेको छ।

तर, जिल्लाको भौगोलिक अवस्थाका कारण सदरमुकाममा चामल मौज्दात भए पनि दुर्गम डिपोमा समयमै पुर्‍याउन समस्या हुँदै आएको छ। सडक अवरुद्ध हुँदा सदरमुकामसम्म आइपुगेको खाद्यान्न गाउँसम्म पुर्‍याउन थप समय र खर्च लाग्ने गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष कर्णालीका दुर्गम बस्तीमा चाडपर्वअघि नै खाद्यान्न पुर्‍याउने र गाउँस्तरमै बिक्री केन्द्र विस्तार गर्ने योजना अघि सारेको जनाएको थियो।

मुगुमा भने कमजोर सडक सञ्जालका कारण उक्त योजना कार्यान्वयनमा चुनौती थपिएको छ। कम्पनीको मुगु शाखाले सुर्खेतबाट सिधै खाद्यान्न ढुवानी गर्ने तयारी गरे पनि सदरमुकामबाटै दुर्गम बस्ती जोड्ने सडक सहज नभएसम्म डिपोमा नियमित आपूर्ति कायम राख्न कठिन हुने देखिएको छ।

स्थानीय रतन रावलका अनुसार बजार क्षेत्रमा बढी चामल पुग्ने गरे पनि अन्य क्षेत्रमा तुलनात्मक रूपमा कम पुग्ने गरेको छ।

दसैंको मुखमा पुलु डिपो रित्तिएपछि अब तत्काल चामल पुर्‍याउन सके मात्रै स्थानीयले सहुलियत मूल्यको सरकारी चामल पाउनेछन्। अन्यथा सडक र ढुवानीको समस्या प्रत्यक्ष रूपमा स्थानीय उपभोक्ताको भान्सासम्म पुग्ने अवस्था देखिएको छ।