काठमाडौं । हवाई उडानमा चराचुरुङ्गी तथा वन्यजन्तुका कारण हुन सक्ने जोखिम न्यूनीकरण गर्न सरकारले विमानस्थल वरिपरिको क्षेत्रमा वधशाला र फोहोरमैला व्यवस्थापनसम्बन्धी कडा व्यवस्था प्रस्ताव गरेको छ।
सङ्घीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ मा विमानस्थलको तीन किलोमिटर वरिपरिको क्षेत्रमा अव्यवस्थित रूपमा वधशाला स्थापना गर्न तथा फोहोरमैला थुपार्न रोक लगाउने व्यवस्था गरिएको हो।
विधेयकको दफा १९ मा चराचुरुङ्गी, वन्यजन्तु तथा फोहोरमैला नियन्त्रणसम्बन्धी विशेष व्यवस्था गरिएको छ। उक्त दफाको उपदफा (३) मा विमानस्थल र विमानस्थलको तीन किलोमिटर वरिपरिको क्षेत्रमा कसैले पनि अव्यवस्थित रूपमा वधशाला स्थापना गर्ने वा फोहोरमैला थुपार्ने कार्य गर्न नहुने उल्लेख छ।
विमानस्थल आसपासमा फोहोर तथा मासुका अवशेष थुपार्दा चिल, गिद्धलगायत चराचुरुङ्गी आकर्षित हुने र ती चराहरू विमानसँग ठोक्किँदा उडान सुरक्षामा जोखिम बढ्ने भएकाले यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
अटेर गरे १ लाखसम्म जरिवाना
प्रस्तावित व्यवस्थाको उल्लङ्घनलाई विधेयकले कसुरका रूपमा परिभाषित गरेको छ। दफा ३९ को खण्ड (च) अनुसार विमानस्थलको तीन किलोमिटर वरिपरि अव्यवस्थित रूपमा वधशाला स्थापना गर्ने वा फोहोरमैला थुपार्ने कार्य कसुर मानिनेछ।
यस्तो कसुर गर्ने व्यक्ति वा संस्थालाई दफा ४० को उपदफा (१) को खण्ड (क) बमोजिम २० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
जरिवाना गर्ने अधिकार प्राधिकरणका प्रबन्ध निर्देशकलाई दिने प्रस्ताव गरिएको छ। कसुरको मात्रा हेरेर जरिवाना निर्धारण गर्न सकिने विधेयकमा उल्लेख छ।
दोहोर्याए दोब्बर जरिवाना
पहिलो पटक कारबाहीमा परेर पनि सोही कसुर दोहोर्याए थप कडा सजायको व्यवस्था गरिएको छ।
विधेयकको दफा ४० को उपदफा (२) अनुसार एकपटक सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसुर गरेमा पहिले तोकिएको जरिवानाको दोब्बर जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको छ।
प्रस्तावित कानुनी व्यवस्थाको मुख्य उद्देश्य विमानस्थल आसपास चराचुरुङ्गी तथा वन्यजन्तु आकर्षित हुने गतिविधि नियन्त्रण गरी विमानको सुरक्षित उडान तथा अवतरण सुनिश्चित गर्नु हो।







