काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (Senior DCEO) कवि फुयालले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा शुक्रबारदेखि लागू भएको हो।
बीमा क्षेत्रमा लामो अनुभव भएका फुयाल व्यवस्थापन, व्यवसाय विस्तार, बजार रणनीति तथा जनशक्ति विकासमा सक्रिय व्यवस्थापकका रूपमा परिचित छन्। उनले विभिन्न जीवन बीमा कम्पनीमा नेतृत्वदायी तथा व्यवस्थापकीय जिम्मेवारी सम्हालिसकेका छन्।
सन नेपाल लाइफमा आबद्ध रहँदा फुयालले व्यवसाय विस्तारसँगै कर्मचारी तथा अभिकर्ताको क्षमता विकास, तालिम प्रणाली र बजार रणनीतिमा जोड दिँदै आएका थिए। कम्पनीसम्बद्ध स्रोतका अनुसार उनले कम्पनीमा आबद्ध हुँदा करिब ७० करोड रुपैयाँ रहेको व्यवसायलाई १ अर्ब रुपैयाँभन्दा माथि पुर्याउन भूमिका खेलेका थिए।
व्यवस्थापन र कर्मचारी विकासमा जोड
फुयालले कर्मचारी तथा अभिकर्ताको क्षमता विकासलाई व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा अघि बढाउँदै आएका थिए। समयअनुसार नयाँ तालिम तथा प्रशिक्षणमा जोड दिँदै अभिकर्ताको बजार बुझाइ, बिक्री क्षमता र ग्राहकसँगको सम्बन्ध सुधारमा विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए।
सन नेपाल लाइफमै रहँदा पनि अभिकर्ता सशक्तीकरण र व्यवसाय विस्तारसम्बन्धी कार्यक्रममा उनको नेतृत्वदायी भूमिका देखिएको थियो।
विभिन्न बीमा कम्पनीमा नेतृत्व
फुयालले आफ्नो बैंकिङ करियर लक्ष्मी बैंकबाट सुरु गरेका थिए। त्यसपछि राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, आईएमई लाइफ हुँदै सन नेपाल लाइफसम्म पुगेका हुन्।
सिटिजन लाइफमा मुख्य बजारीकरण अधिकृत (CMO) का रूपमा काम गरेका उनले कम्पनीको बजार विस्तारमा भूमिका निर्वाह गरेका थिए। त्यसपछि आईएमई लाइफको प्रमुख कार्यकारी अधिकृत (CEO) बनेका थिए।
आईएमई लाइफमा चार वर्ष सीईओ
फुयालले २०७७ भदौमा आईएमई लाइफको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए। उनले पहिलो चारवर्षे कार्यकाल पूरा गरेका थिए र दोस्रो कार्यकालका लागि समेत सम्झौता नवीकरण भएको थियो।
पहिलो कार्यकाल पूरा गरेपछि उनले दोस्रो कार्यकाल सुरु हुनुअघि आईएमई लाइफ छाडेका थिए। त्यसपछि करिब ६ महिनाको व्यावसायिक अन्तरालपछि २०८१ फागुनतिर सन नेपाल लाइफमा Senior DCEO का रूपमा आबद्ध भएको रिपोर्टमा उल्लेख छ।
अबको यात्रा कता ?
सन नेपाल लाइफबाट राजीनामा दिएसँगै फुयालको आगामी व्यावसायिक यात्राबारे बीमा क्षेत्रमा चासो बढेको छ। यद्यपि, उनले अब कुन संस्था वा जिम्मेवारी सम्हाल्ने भन्नेबारे हालसम्म औपचारिक जानकारी सार्वजनिक भएको छैन।







