काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरु सोमबारदेखि बन्द गर्ने भएका छन्।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संस्था इस्पानले शुक्रबार विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिएको हो।
‘बिगतका वर्षहरुका मूल्यवृद्धि, मध्यपूर्वको तनावले गर्दा चुलिएको इन्धनको मूल्य, आकाशिएको फाइबरको मूल्य, अत्याधिक मुद्रास्फीतिको अवस्था र एआईको तिब्र वृद्धिले गर्दा एक्कासी महंगिएको इलेक्ट्रोनिक र चिपसेटको मूल्य एवं अन्य थुप्रै कारण र परिस्थिति समेतले गर्दा आईएसपीहरूको अपरेसन समेत चल्न सकस भएको हुँदा आईएसपीहरूले दिँदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरू आगामी मिति:२०८३/०६/१९ सोमबारदेखि उपलब्ध गराउन असमर्थ भएको बिनम्र अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्राथी छौँ।’
यस्तो छ विज्ञप्ति
बिगत १२ वर्षमा इन्टरनेटको पहुँच र प्रभावमा नेपालले गरेको प्रगति गर्व गर्न लायक रहेको छ। फिक्स्ड ब्रोडब्याण्डको घनत्व र पहुँचमा, हामी दक्षिण एशियाको पहिलो नम्बरमा रहेका छौ। यो पहुँचको साथसाथै हाम्रो इन्टरनेट विश्वकै सस्तो मध्येको एक रहेको छ जसले गर्दा अधिकांश घरदैलोमा यो सेवा पुगेको छ। आईएसपी हरुले सुपथ र सर्वसुलभ इन्टरनेटका प्याकेजहरु प्रदान गर्दै आएको कुरा सर्वविदित नै छ । इन्टरनेट सेवा प्रदायकहरुले सकेसम्म सुपथ मूल्यमा सेवा प्रवाह गरी जसोतसो गुजारालाई चलाई रहेको थिए।
कोरोना कालदेखि भोटेकोसीको बाढीसम्म आईएसपी हरुले निरन्तर अतिआवश्यक इन्टरनेट सेवा प्रदान गरिरहेका छन्। यसरी डिजिटल नेपालको सपनालाई सार्थक बनाउन अहोरात्र खटिररहनु भएका इन्टरनेट सेवा प्रदयाकहका सम्पूर्ण कर्मचारी साथीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
बिगतका वर्षहरुका मूल्यवृद्धि, मध्यपूर्वको तनावले गर्दा चुलिएको इन्धनको मूल्य, आकाशिएको फाइबरको मूल्य, अत्याधिक मुद्रास्फीतिको अवस्था र एआईको तिब्र वृद्धिले गर्दा एक्कासी महंगिएको इलेक्ट्रोनिक र चिपसेटको मूल्य एवं अन्य थुप्रै कारण र परिस्थिति समेतले गर्दा आईएसपीहरूको अपरेसन समेत चल्न सकस भएको हुँदा आईएसपीहरूले दिँदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरू आगामी मिति:२०८३/०६/१९ सोमबारदेखि उपलब्ध गराउन असमर्थ भएको बिनम्र अनुरोध गर्दछौं। यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्राथी छौँ।
साथै सम्पूर्ण आईएसपी हरुलाई अझै गुणस्तरीय सेवा दिएर डिजिटल नेपालको सपनामा लागिरहनु हुन निर्देशन गर्दछौँ। सबै आईएसपी हरुले नेपाल दूरसंचार प्राधिकरणबाट स्वीकृत रेट अनुसारको आफ्नो वेबसाइटमा सजिलै देखिने गरी राख्न हुन् निर्देश गर्दछौँ। सम्पूर्ण ग्राहक महानुभावहरुलाई अनिवार्य रुपमा भ्याट बिल लिनुहुन समेत अनुरोध गर्दछौं। यस विषम परिस्थितिमा हाम्रो साथ दिनु भएका ग्राहकवर्ग एबं सम्बन्धित सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं र यहाँहरुलाई सेवा प्रदान गर्न अहोरात्र खटिरहने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ।







