हेटौंडा । गैँडा कप २०८३ को उपाधिका लागि हेटौंडा स्पोट्र्स एकेडेमी र चितवन ट्रेनिङ सेन्टरबीच फाइनल भिडन्त हुने भएको छ ।
प्रतियोगिताको दोस्रो दिन भएका सेमिफाइनल खेलमा प्रभावशाली जित निकाल्दै हेटौंडा र चितवनले फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
पहिलो सेमिफाइनलमा हेटौंडा स्पोट्र्स एकेडेमीले सीटीसी–बीलाई ६ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको सीटीसी–बीले ३ विकेटको क्षतिमा ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा हेटौंडाले ४ विकेट गुमाउँदै ८० रन बनाएर लक्ष्य पूरा गर्यो ।
हेटौंडाको जितमा युबिन बुढाथोकीले १५ बलमा २८ रन बनाएर महत्त्वपूर्ण योगदान गरे ।
दोस्रो सेमिफाइनलमा चितवन ट्रेनिङ सेन्टरले सीटीसी हत्तिबनलाई ५८ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो । पहिले ब्याटिङ गरेको चितवनले २ विकेटको क्षतिमा १३९ रनको बलियो योगफल तयार पारेको थियो । जवाफमा सीटीसी हत्तिबनले ७ विकेट गुमाउँदै ८१ रन मात्र बनाउन सक्यो ।
चितवनको जितमा कप्तान रोबिन शर्माले विस्फोटक ब्याटिङ गरे । उनले २६ बलमा ६९ रन बनाए । उनको इनिङ गैँडा कप २०८३ को पहिलो अर्धशतकसमेत हो ।
शर्माले प्रतियोगिताको पहिलो खेलमा ४९ रन बनाउँदै अर्धशतकबाट एक रनले चुकेका थिए । दोस्रो सेमिफाइनलमा भने उनले ६९ रनको आक्रामक इनिङ खेल्दै चितवनलाई फाइनलसम्म पुर्याएका छन् ।
यसअघि दोस्रो दिनका अन्य खेलमा हेटौंडा स्पोट्र्स एकेडेमीले सीटीसीलाई ६ विकेटले तथा सीटीसी हत्तिबनले भक्तपुर क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गरेका थिए । चितवन ट्रेनिङ सेन्टरले एन्जल्स स्पोट्र्स क्रिकेट एकेडेमीलाई १० विकेटले हराएको थियो ।
गैँडा कप २०८३ को फाइनल असोज १७ गते बिहान १० बजे गौरीटार क्रिकेट रंगशालामा हुनेछ । उपाधिका लागि हेटौंडा स्पोट्र्स एकेडेमी र चितवन ट्रेनिङ सेन्टर आमनेसामने हुनेछन् ।







