केप क्यानभेरल  । स्पेसएक्सको ड्र्यागन अन्तरिक्षयान चार नयाँ अन्तरिक्षयात्री लिएर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा सफलतापूर्वक जोडिएको छ। क्रू–१३ का सदस्यले अब करिब ६ महिना आइएसएसमै बिताउनेछन्।

स्पेसएक्सको फाल्कन रकेटले बिहीबार स्थानीय समयअनुसार बिहान ११ः१० बजे फ्लोरिडाको केप क्यानभेरलबाट क्रू–१३ लिएर उडान भरेको थियो। सात घण्टा ५५ मिनेटपछि ड्र्यागन ‘ग्रेस’ क्याप्सुल आइएसएसमा जोडिएको नासाले जनाएको छ।

ADVERTISEMENT

नासाका अनुसार यो अमेरिकी अन्तरिक्षयानले आइएसएससम्म गरेको अहिलेसम्मकै छोटो यात्रा हो।क्रू–१३ मा अमेरिकी अन्तरिक्षयात्री जेसिका वाटकिन्स र ल्युक डेलानी, क्यानाडाका जोशुआ कुट्रिक तथा रूसका सेर्गेई टेटेरिआटनिकोभ छन्। आइएसएस पुगेपछि वाटकिन्सले त्यहाँ पुग्न पाउँदा उत्साहित भएको बताइन् भने कुट्रिकले अन्तरिक्षमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा खुसी व्यक्त गरे।

ADVERTISEMENT

क्रू–१३ ले अहिले आइएसएसमा रहेका अमेरिकी जेसिका मीर र ज्याक ह्याथवे, फ्रान्सकी सोफी एडेनोट तथा रूसका आन्द्रे फेडयेभबाट जिम्मेवारी सम्हाल्नेछ। क्रू–१२ का सदस्य सोमबार पृथ्वी फर्कने तयारीमा छन्। मौसमअनुसार उनीहरूको फिर्ती तालिका परिवर्तन हुन सक्ने जनाइएको छ।

क्रू–१३ को प्रक्षेपण यसअघि सेप्टेम्बरको मध्यतिर गर्ने तयारी थियो। तर ड्र्यागनमा प्राविधिक त्रुटि देखिएपछि प्रक्षेपण स्थगित गरिएको थियो। यस मिसनका क्रममा क्यानाडाका अन्तरिक्षयात्री कुट्रिककी श्रीमतीले बच्चा जन्माउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

आइएसएसमा करिब २५ वर्षदेखि निरन्तर मानव बसोबास गर्दै आएको छ। यसलाई सन् २०३० आसपास पृथ्वीको एउटा महासागरमा खसाल्ने गरी कक्षाबाट हटाउने योजना छ। रूस–युक्रेन युद्धपछि अन्य क्षेत्रमा अमेरिका र रूसबीचको सहकार्य प्रभावित भए पनि आइएसएसमा भने दुवै देशसहितका साझेदारबीच सहकार्य जारी छ।