काठमाडौँ । बेलायतमा रहेका नेपाली संगीतप्रेमीलाई लक्षित गर्दै आगामी ९ अक्टोबरमा ‘सुम्निमा साँझ’ विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
एल्डरसटस्थित एम्पायर हलमा आयोजना हुने कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरूले विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ। सुम्निमा इभेन्ट, लुङ्टो क्रिएसन, ईफ्लेक्स इन्टरटेनमेन्ट र इनाश यूकेको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा चर्चित गायिका मेलिना राई, ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का उपविजेता रोशन राई, गायक प्रताप दास, गायिका पार्वती राई, सबिना योङहाङ, जानुका राई, अप्सरा घिमिरे तथा अभिनेत्री रजनी गुरुङलगायत कलाकारको प्रस्तुति रहनेछ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा मेलिना राई र रोशन राईको संयुक्त प्रस्तुति रहने आयोजकले जनाएको छ। ‘द भ्वाइस अफ नेपाल’मा कोच र प्रतियोगीका रूपमा चर्चित उनीहरू एउटै मञ्चमा प्रस्तुत हुने भएकाले कार्यक्रम विशेष बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सुशील नेपालले सञ्चालन गर्नेछन्। नेपालबाट सहभागी कलाकारको समन्वय ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेश पौडेलले गरिरहेका छन्। बेलायतमा व्यवसाय गर्दै आएका सचिन बुढाथोकी र रमेश श्रेष्ठ पनि कार्यक्रमका आयोजकमा छन्।
भोटेकोसी बाढीपीडितलाई पनि सहयोग
‘सुम्निमा साँझ’लाई मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको आयोजकले जनाएको छ।
कार्यक्रमबाट प्राप्त आम्दानीको ५ प्रतिशत रकम भोटेकोसी बाढीपीडित परिवारलाई सहयोग गर्ने घोषणा गरिएको छ। यसले बेलायतमा रहेका नेपालीलाई सांगीतिक मनोरञ्जनसँगै विपद्पीडित परिवारलाई सहयोग गर्ने अवसरसमेत प्रदान गर्ने आयोजकको भनाइ छ।







