काठमाडौं । चालु आर्थिक वर्षको वैशाखदेखि असोज १२ गतेसम्म झन्डै ३ लाख नयाँ किसान ‘किसान सूचीकरण प्रणाली’मा दर्ता भएका छन्।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार यस अवधिमा देशभरबाट २ लाख ९४ हजार ९८८ किसान प्रणालीमा थपिएका हुन्। यससँगै किसान सूचीकरण प्रणालीमा सूचीकृत किसानको कुल संख्या २६ लाख ७९ हजार पुगेको छ।

ADVERTISEMENT

वास्तविक किसानको पहिचान सुनिश्चित गर्दै तथ्यांकमा आधारित कृषि योजना बनाउन मन्त्रालयले सूचीकरण अभियानलाई तीव्रता दिएको हो। मन्त्रालयले मातहतका सबै कार्यालय, निकाय तथा आयोजनालाई कृषि कार्यक्रम सञ्चालन गर्दा लाभग्राही किसानको सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

ADVERTISEMENT

सरकारी अनुदान, मल वितरणलगायतका सेवा–सुविधामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयले आग्रह गरेको छ। कृषिमन्त्री गीता चौधरीले पनि किसानलाई सूचीकरणमा अनिवार्य सहभागी हुन आग्रह गर्दै आएकी छन्।

१ सय २३ पालिकामा सूचीकरण सम्पन्न

हालसम्म १ सय २३ पालिकामा किसान सूचीकरणको काम पूर्ण रूपमा सम्पन्न भएको छ। त्यस्तै, १९ पालिकामा ९० प्रतिशत किसानको प्रमाणीकरण सकिएको छ।

ADVERTISEMENT

देशभर हालसम्म ८ लाख ८२ हजार किसानको प्रमाणीकरण सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

सूचीकरण सम्पन्न भएका १ सय २३ पालिकाका ६ लाख १ हजार २९६ किसानको विवरणका आधारमा वर्गीकरणसमेत गरिएको छ। जसमा २ लाख ८५ हजार ८८३ निर्वाहमुखी, १ लाख ६६ हजार ५४३ साना व्यावसायिक, १ लाख १४ हजार ५९६ मझौला व्यावसायिक र ३४ हजार २७४ ठूला व्यावसायिक किसान छन्।

तर वडा तथा पालिका तहको प्रमाणीकरण पूरा नभएका किसानलाई हाल परिचयपत्र भने दिन नसकिने मन्त्रालयले स्पष्ट पारेको छ।