गुल्मी । अविरल वर्षापछि सडक भासिएर ठूलो पहिरो खसेपछि गुल्मीको तम्घास–रेसुङ्गा विमानस्थल–खज्याङ सडकखण्ड अवरुद्ध भएको छ।
असोज ८ देखि ११ गतेसम्म परेको लगातारको वर्षाका कारण रेसुङ्गा नगरपालिका–१०, सिमीचौर क्षेत्रमा सडक भासिएर ठूलो पहिरो खसेपछि सडक सम्पर्क टुटेको हो।
सडक अवरुद्ध हुँदा बिरामी, विद्यार्थी, दैनिक आवतजावत गर्ने सर्वसाधारण तथा स्थानीय व्यवसायी प्रत्यक्ष प्रभावित भएका छन्। तम्घास तथा अन्य बजार क्षेत्रमा आवतजावत गर्ने स्थानीयले अहिले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ।
स्थानीयका अनुसार सुरुमा सडकमा सामान्य चिरा देखिएको थियो। वर्षा निरन्तर भएपछि चिरा बढ्दै गएर सडकको ठूलो भाग भासिँदै पहिरोमा परिणत भएको हो।
स्थानीय मीनबहादुर कुँवरले सडक निर्माणका क्रममा नाली तथा पानी निकासको उचित व्यवस्थापन नहुँदा समस्या गम्भीर बनेको बताए। उनका अनुसार पहिरोका कारण करिब १० रोपनी खेतीयोग्य जमिन प्रभावित भएको छ भने दुई घर जोखिममा परेका छन्।
सडक भासिएपछि विशेषगरी बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या भएको स्थानीयको भनाइ छ। पहिरो ठूलो भएकाले सामान्य मर्मतबाट मात्रै सडक सञ्चालन गर्न कठिन रहेको उनीहरूले बताएका छन्।
स्थानीयवासीले जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन गरी दीर्घकालीन रूपमा सुरक्षित हुने गरी सडक मर्मत र पानी निकासको व्यवस्था गर्न माग गरेका छन्।
रेसुङ्गा नगरपालिका–१० की वडा सदस्य कमला बस्नेत क्षेत्रीले पहिरो ठूलो भएकाले तत्काल सडक सञ्चालनमा ल्याउन चुनौती रहेको बताइन्। स्थानीय सरकारका तर्फबाट सडक मर्मतका लागि आवश्यक पहल भइरहेको उनको भनाइ छ।
सडक अवरुद्ध भएपछि तम्घास–रेसुङ्गा विमानस्थल–खज्याङ सडकखण्डबाट नियमित यात्रा गर्ने नागरिकले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ। वैकल्पिक मार्ग लामो तथा असहज भएकाले स्थानीयको समय र खर्च दुवै बढेको छ।








