न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका मन्त्री खनालले महासभाको साइडलाइनमा श्रीलंकाका समकक्षी हेराथसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा दुवै मन्त्रीले नेपाल–श्रीलंकाबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।
मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति श्रीलंकाले व्यक्त गरेको सहानुभूति र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभारसमेत व्यक्त गरे।
भेटमा दुवै मन्त्रीले नेपाल–श्रीलंका सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गर्दै विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिएका थिए।
उनीहरूले व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








