काठमाडौँ । अमेरिकी अर्बपति इलोन मस्कको कम्पनी स्पेसएक्सले आफ्नो पुनः प्रयोग गर्न मिल्ने सुपर हेभी–स्टारसिप रकेटलाई सोमबार सफलतापूर्वक पृथ्वीको कक्षमा पुर्‍याएको छ।

पृथ्वीको कक्षमा करिब तीन घण्टा बिताएपछि स्टारसिप प्रशान्त महासागरमा अवतरण गरेको हो। तर यसपटक स्टारसिपको समुद्री अवतरण अघिल्ला परीक्षणजस्तो सहज नभएको स्पेसएक्सले आफ्नो प्रत्यक्ष प्रसारणका क्रममा जनाएको छ।

ADVERTISEMENT

अवतरण भएको केही समयपछि प्रत्यक्ष प्रसारणमा समुद्रको क्षेत्रमा ठूलो आगोको गोला देखिएको थियो। यो अभियान करिब १० घण्टासम्म सञ्चालन गर्ने योजना बनाइएको थियो। तर स्पेसएक्सको टोलीले निर्धारित समयभन्दा अगावै अभियान सम्पन्न गर्ने निर्णय गरेको थियो।

ADVERTISEMENT

उडानका क्रममा स्टारसिपले नयाँ पुस्ताका २६ वटा स्टारलिंक भी३ उपग्रह पृथ्वीको कक्षमा तैनाथ गरेको छ। ती उपग्रह स्पेसएक्सले पृथ्वीमा सञ्चालन गरिरहेको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने समूहमा थपिएका छन्।

प्रक्षेपणअघि रकेटको इन्जिनमा समस्या देखिएपछि स्टारसिपलाई पृथ्वीको कक्षमा पठाउने वा नपठाउने विषयमा इन्जिनियरहरूबीच अन्योल उत्पन्न भएको थियो। तर अन्ततः रकेट प्रक्षेपण गर्ने निर्णय गरिएको थियो।

ADVERTISEMENT

स्पेसएक्सले स्टारसिपलाई विश्वकै अहिलेसम्मको सबैभन्दा शक्तिशाली प्रक्षेपण यान भएको दाबी गर्दै आएको छ। कम्पनीका अनुसार भविष्यमा यही यानमार्फत चालक दल र आवश्यक सामग्रीलाई पृथ्वीको कक्ष, चन्द्रमा, मंगल ग्रह र त्यसभन्दा अगाडिसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।