विद्युतीय कमर्सियल सवारीको बजारमा दक्षिण कोरियाली ब्रान्ड Kia ले नयाँ प्रयोग अघि सारेको छ। कम्पनीले एउटै इलेक्ट्रिक भ्यानलाई ग्राहकको आवश्यकता र व्यवसायअनुसार विभिन्न स्वरूपमा प्रयोग गर्न मिल्ने गरी PV5 को नयाँ चेसिस संस्करण सार्वजनिक गरेको हो।
यो चेसिसमा ग्राहकले अगाडिको क्याबिन र खुला चेसिस लिएर पछाडिको संरचना आफ्नो आवश्यकताअनुसार तयार गर्न सक्नेछन्। कम्पनीका अनुसार यसलाई टिपर, बक्स भ्यान, रेफ्रिजेरेटेड भ्यान, मोबाइल वर्कसप, एम्बुलेन्स, सर्भिस भ्यान, फुड ट्रक तथा क्याम्परसम्मका रूपमा प्रयोग गर्न सकिन्छ।
यो पूर्ण रूपमा नयाँ मोडल भने होइन। Kia PV5 कै चेसिस संस्करणलाई थप व्यवसायिक प्रयोगका लागि विस्तार गरिएको हो। कम्पनीले यसअघि कार्गो र प्यासेन्जर भ्यानका रूपमा बिक्री गर्दै आएको PV5 मा अगाडिको डिजाइनलाई निरन्तरता दिँदै पछाडिको भागलाई खुला स्टिल फ्रेममा आधारित बनाएको छ। अगाडिको क्याबिनमा दुईवटा सिट छन्।
PV5 चेसिसको लम्बाइ ४,६१० मिलिमिटर र ह्विलबेस २,९९५ मिलिमिटर रहेको छ। यसको मुख्य विशेषता आवश्यकताअनुसार पछाडिको संरचना परिवर्तन गर्न सकिने क्षमता हो। Kia ले यसअघि PV5 लाई फुड ट्रकका रूपमा समेत प्रयोग गरिएको उदाहरण सार्वजनिक गरिसकेको छ।
बेलायतमा सार्वजनिक गरिएको PV5 चेसिस Long Range संस्करणमा उपलब्ध छ। यसमा १२० किलोवाटको इलेक्ट्रिक मोटर र ७१.२ kWh ब्याट्री दिइएको छ। WLTP परीक्षणअनुसार एकपटक चार्ज गर्दा ४१६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
यसको अधिकतम भारवहन क्षमता १,५०० किलोग्राम रहेको छ। एउटै इलेक्ट्रिक प्लेटफर्मलाई फरक–फरक व्यावसायिक प्रयोजनका लागि रूपान्तरण गर्न सकिने भएकाले Kia ले कमर्सियल EV बजारमा नयाँ किसिमको प्रयोग विस्तार गर्न खोजेको देखिन्छ।
PV5 पछि Kia ले यसको ठूलो संस्करण PV7 समेत ल्याउने तयारी गरिरहेको छ। कम्पनीका अनुसार PV7 लाई सन् २०२७ को दोस्रो अर्धवार्षिकसम्म बजारमा ल्याउने योजना छ। त्यसअघि PV5 नै कम्पनीको प्रमुख कमर्सियल इलेक्ट्रिक भ्यानका रूपमा रहनेछ।








